‘एमालेले अदालतको फैसलाविरुद्ध आन्दोलन गर्नु अर्को कलंक’



काठमाडौँ। एमाले माधव नेपाल समहूका प्रभावशाली नेता जगन्नाथ खतिवडाले सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलन घोषणा गर्नु एमालेका लागि अर्को कलंक हुने बताएका छन्।

लोकतन्त्र, संविधान र विधिको शासन मान्छु भन्नेहरुले अदालतको फैसलाविरुद्ध आन्दोलन गर्नु उल्टो हुने नेता खतिवडाको भनाई छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले भने, ‘लोकतान्त्रीक पार्टीले अदालतको फैसलाविरुद्धमा आन्दोलन गर्न मिल्दैन, यसले एमालेलाई कलंकीत बनाउँछ।’

नेता खतिवडाले ओली नेतृत्वको सरकार हुँदा एमालेको सरकार भएजस्तो अनुभूती कहिल्यै नभएको दावी गरेका छन्। आफ्नै सरकारविरुद्धमा लागेको आरोप खेपिरहेको नेपाल पक्षले ओली सरकार आफूहरुको जस्तो कहिल्यै नभएको दावी गरेको हो।

एकातिर सरकार आफ्नो जस्तो नलागेको र अर्कोतिर लोकतन्त्र र संविधानको दिनप्रति दिन हुर्मत लिने काम ओलीले गरिरहेकाले त्यसको विकल्प खोज्नु परेको उनको भनाई छ। लोकतन्त्र र संविधान जोगाउनका लागि आफूहरुले ओलीलाई हटाउन बाध्य भएको नेता खतिवडाले स्पष्ट पारे।