अफगानिस्तानको युद्धमा भारतीय पत्रकार सिद्दीकी मारिए



काठमाडौँ। अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीकी मारिएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानी सेनाका वरिष्ठ अधिकारीले यो समाचारको पुष्टि गरेका हुन्। दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको समाचारमा बताइएको छ। बुधबार तालिबानले स्पिन बोल्डाक सहर र पाकिस्तानसँग जोडिएको सीमा–चौकीलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

भारतमा रहेका अफगानिस्तानी राजदूत फरिद मामुन्दजईले समाजिक सञ्जाल ट्वीटरमार्फत् दानिश सिद्दीकी मारिएको बताएका छन्। दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटोग्राफर थिए र उनी पछिल्लो केही दिनयता अफगानिस्तानमा जारी युद्ध र तनावको अवस्था देखाउने तस्वीर खिच्दै आएका थिए।

उनले सन् २०१० देखि रोयटर्समा काम गर्न थालेका थिए। सन् २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा सिद्दीकी त्यसको एक सदस्य थिए।