मुग्लिनमा लिफ्ट मागेकी युवतीको ट्रकभित्र बलात्कार



काठमाडौँ। असार २७ गते आइतबार। रुकुमकी १९ वर्षीया इशारा (नाम परिवर्तन) लाई बुटवल जानु थियो। केही समयअघि इशारा बुटवलभन्दा राम्रो काम पाइने आशामा काठमाडौं आएकी थिइन्।

सानैमा विवाह भएको, पछि त्यही विवाह नटिकेको अवस्थाबाट गुज्रिएकी इशारासँग दुई वर्षका छोरा थिए। काठमाडौं आएर आमा छोराको पेट पाल्न उनले सुरूमा मजदुरी काम गरिन्। कुनै दिन राम्रो काम पाउँला भन्ने आशैआशमा दिन बितिरहेका बेला कोरोना बढ्यो, निषेधाज्ञा भयो। उनले मजदुरीको काम पाउन छोडिन्। योभन्दा त बरू बुटवलको पानी फ्याक्ट्रीकै काम ठिक थियो भन्ने ठानेर उनी काठमाडौँ छोड्ने निर्णयमा पुगिन्। बुटवल त जाने तर कसरी? लामो दुरीका बस अझै खुलिसकेका छैनन्।

केही जुगाड भइजाला भनेर उनी कंलकी पुगेकी थिइन्। कलंकी चोकमा ट्रक र अरू गाडी आउ-जाउ गरिरहेका थिए। उनले थानकोटतिर जाने ट्रकलाई हात दिएर आफूलाई लिफ्ट दिन आग्रह गरिन्। केहीबेरमा एउटा ट्रक रोकियो। ना ५ ख २८७० नम्बरको ट्रकका चालक सुनिल महतोले उनलाई लिफ्ट दिन्छु भने। उनी त्यसैमा चढिन्। सुनिलले किशोरीलाई नारायणघाटसम्म छाड्ने बताएका थिए।

‘निषेधाज्ञाको समयमा बस पाइएन। बस नपाएपछि उनी ट्रकमै चढेर जान बाध्य भइन्, ‘पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने,’त्यसपछि चालकहरूले अपराध गरे।’ मुग्लिन-नारायणघाट सडकमा पहिरोका कारण उनीहरू जाममै फसे। जाममा फसेपछि सुनिलले किशोरीलाई आइतबार र सोमबार आफूसँगै राखे। धम्क्याएर ट्रकको क्याबिनमा लगेर राति बलात्कार गरे।

जाम खुलेपछि सुनिलले मंगलबार दिउँसो १ बजे चितवनको रामनगर पुर्‍याए। त्यहाँबाट सुनिलले ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढाएर पठाए। त्यो ट्रक शिववालक महतोले चलाएका थिए।

सुनिलले शिववालकलाई पनि आफूहरूबीच यौनसम्पर्क भएको जानकारी दिइसकेका थिए। शिववालकले ती किशोरीलाई बुटवल लग्ने भनेर झुक्याएर वीरगञ्जतर्फ लगे। त्यसैबीच फेरि ती किशोरीमाथि चालक शिववालकले बाराको जंगल क्षेत्रमा पुर्‍याएर ट्रकभित्र बलात्कार गरेको प्रहरी उपरीक्षक पाण्डेले बताए।

शिववालकसँगै रहेका २७ वर्षीय सहचालक इन्दल चौहानलाई उनले ड्राइपोर्टसम्म पुर्‍याउन भनेका थिए। सहचालक चौहान र त्यसमा सवार अर्का ४० वर्षीय भोला भन्ने व्यक्तिले पनि ड्राइपोर्ट-परवानीपुर सडक खण्ड बीच बाटोमा पटक-पटक बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले ती किशोरीलाई बुधबार साँझ ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित ड्राइपोर्टमा ओराले। किशोरी अलपत्र परिन्।

त्यसैबीच प्रहरी चौकी सिर्सियाबाट खटिएको गस्तीको प्रहरीले ती किशोरीलाई देखेपछि उनको उद्धार भएको हो। उनलाई प्रहरीले सोधपुछ गरेर दुई जना चालकलाई ट्रकसहित पक्राउ गरेको हो। सहचालक चौहान र भोलाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।खनालका अनुसार किशोरीको स्वास्थ्य अवस्था सामान्य छ। उनको स्वास्थ्य परीक्षण गरी अहिले उनलाई एक संस्थाको संरक्षणमा राखिएको छ। उनका छोरा पनि सँगै रहेको खनालले बताए।

‘अहिले उनलाई संस्थाको संरक्षणमा राखिएको छ। स्वास्थ्य अवस्था पनि सामान्य छ, खनालले भने,उनको राहतको लागि जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिले उपलब्ध गराएको छ। पछि आफन्त आएर बकपत्र भएपछि हामीले जिम्मा लगाइदिन्छौं।’ उनीहरूमाथि जबरजस्ती करणी गरेको कसुरअन्तर्गत प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यो समाचार सेतोपाटीमा छ।