काठमाडौँ। केपी शर्मा ओलीको बहिगर्मन र शेरबहादुर देउवा सरकारमा आएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लवले आफ्नो सक्रियता बढाएका छन्।
सुरुमा केपी शर्मा ओलीसँग नजिक देखिएका उनी सरकार परिवर्तन हुने बित्तिकै सत्तारुढ दलसँग नजिक देखिएका छन्। संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको भन्दै प्रचण्ड र डा.बाबुरामको चर्को आलोचना गर्दे आएका विप्लवले पूर्व सहयोद्धा सँगको भेटघाट र छलफललाई तिब्रता दिएका छन्।
जनयुद्धबाट आएको माओवादी यहाँसम्म आउँदा टुटफुट विभाजन र एकताहुँदै अहिले बिभिन्न टुक्रामा बिभाजित छ। दश वर्षे शसस्त्र बिद्रोह गर्दाको माओवादी यहिले छिन्नभिन्न भएको छ। वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै भूमिगत अवस्थामा रहेको विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो।
केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको हो। त्यस यता केही समय गुमनाम जस्तै बनेका विप्लवले पुनः सक्रियता बढाएका छन। बिप्लवले पूर्व सहयोद्धा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगाएत नेपाल कम्युनिस्ट पार्टी एमाले बरिष्ठ नेता माधव नेपाल संग भेटवार्ता गरेपछि नया बहस सुरु भएको छ।
तर बिप्लव निकट नेता भने त्यो आफ्ना नेता कार्यकर्ताको रिहाइका बारेमा छलफल भएको बताएका छन्। ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो। तर, ओलीले सम्झौता अनुसार सबै विषयबस्तु कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन्।
भिन्न पृष्ठभूमिबाट आएका कम्युनिष्ट पार्टीबीच एकता कति सम्भव छ भन्नेबारे पनि बहस भैरहेको छ। फरक धारबीच तीव्र बनेको वैचारिक संघर्ष, आरोप–प्रत्यारोप र प्रतिस्पर्धाको शृंखला एकतामा परिणत हुनु ऐतिहासिक छ। विगतका ओली–पीडित समूहहरू अब पनि ओलीकै अत्यधिक पेलाइका कारणले सबै एउटै दलमा एकीकृत हुने सम्भावना पनि प्रबल देखिएको छ। २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टी कति चिरामा विभाजित भयो र कम्युनिष्टका साइनबोर्ड झुन्ड्याएका कति पार्टी छन् भनेर गणना गर्न निकै समय खर्चिनु पर्ने अबस्था छ।
७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो। त्यस्तै दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरुले चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मको पुगे पनि त्यसले निरन्तरता पाउन भने सकेन। झापा आन्दोलन हुँदै २०४९ सालबाट खुल्ला राजनीतिबाट नै समाज परिवर्तन गर्न सम्भव छ भन्दै मदन भण्डारीको जवज मान्दै आएकोे नेकपा एमाले आ्न्तरिक कलहका कारण उत्पन्न विद्रोहले गर्दा बिभाजित जस्तै छ। नेकपामा भइसकेको फुट र एमालेमा हुन लागेको अर्को फुटले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्नेछ।
अहिले पनि एकै सिजनमा कम्युनिस्ट साइनबोर्डधारी अर्को विशाल पार्टीको फुटका कारण नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण हुने सम्भावना देखिएको छ। प्रकारान्तरले एकत्रित भएर निकट भविष्यमा एउटै दल बनाए भने आश्चर्य मान्नुपर्ने छैन। २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुक सत्ता परिवर्तनको खेलमा अल्झिँदै आएको छ। यसबीचमा दलहरुले दुुई तिहाइ नजिकसहितको बहुमत, बहुमत र अल्पमतको सरकार बनाए। तर, कुनै पनि सरकारले आफ्नो पूरा कार्यकाल पूूरा गर्न सकेनन्। ती सरकारहरु सत्ता परिवर्तनको खेलको भड्खालोमा परे।