काठमाडौँ। २८ असार २०७८ इतिहासका र राजनीतिशास्त्रका विद्यार्थीहरुका लागि अनुसन्धान अनि अध्ययनको विषय बन्ने नै छ। उक्त दिन दुई तिहाई शक्तिका साथ सत्तामा पुगेका पूर्वप्रधानमन्त्री केपी ओलीलाई अदालतले अपदस्त गरेको दिन।
देशी तथा विदेशी शक्तिहरुले नियालेको दिन। नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको दिन।
आत्मरतिमा रमाउने, आत्मकेन्द्रित बन्ने र गुटगत शैलीको सिकार बनेका ओलीले त्याग निष्ठा र समर्पणको राजनीति गर्न सकेनन्। यो नै उनको जीवनको मुख्य कमजोरी रह्यो। उनलाई बाहिय र देशभित्रका अन्य शक्तिका कारण सत्ताबाट यसरी घोग्ग्रेठ्याँक लगाइएको होइन। अधिकांश कारण उनको टिममा निर्भर रहेको थियो। ओलीले सल्लाहकारदेखि गुटका नेताहरुको साँघुरो घेरा तोडेर आम मानिसका लागि राजनीति गर्न सकेनन्।
उनको गुटका केही अराजक मानिसहरुले उनलाई ‘बा’ करार गरे। अध्यक्ष र प्रधानमन्त्रीबाट ‘बा’ मा परिणत भएकोमा ओली खुशी नै देखिए। कम्युनिष्ट आचरणबाट ‘बा’ करार गर्नेहरुलाई निर्देशित गर्न उनले चाहेनन् या सकेनन्। जब अध्यक्ष र प्रधानमन्त्रीभन्दा ‘बा’ को आत्मरतिमा रमाउन पुगे त्यसपछि उनको अहंकार बढ्यो। अन्तत: तिनै ‘बा’ करार गर्नेहरुले ओलीलाई जनप्रिय नेता, राष्ट्रवादी नेता र त्यागि नेता हुन दिएनन्। बरु उल्टै बालुवाटारबाट बाल्कोट ल्याण्ड गराएरै छोडे।
उनको सबैभन्दा ठूलो शक्ति माओवादी र एमाले मिलेर बनेको पार्टी (नेकपा) थियो। उनले त्यो ऐतिहासिक तथा अभूतपूर्व जनसमर्थन र जिम्मेवारी पाएका थिए। त्यसको भारी थाम्न सकेनन्। जनमतको भावना बुझ्न सकेनन्। पार्टीको विवाद सुरु भएपछि नैतिकता देखाउन सक्थे, त्यसो गर्नुको साटो अन्यत्र लागे। खराब मार्गमा हिडेपछि देशमा उनकै कारण संवैधानिक, राजनीतिक, आर्थिक र सामाजिक संटक निम्तियो।
पहिलो पटक ५ पुस २०७७ मा संसद विघटन गरेपछि नेकपा धुजाधुजा बन्यो। पार्टीमा अल्पमत पर्दा, संसदमा विश्वासको मत नपाउने अवस्था देखेर उनले अचानक संसद भंग गरेका थिए। फागुन ११ गते संसद विघटन बदर भयो। उनको टिममा गतिला मान्छे नभएका पनि होइनन्। तर, गतिला मानिसहरुभन्दा अगतिला र अराजकको संख्या धेरै भएका कारण राम्रा मान्छेका सुझाव कार्यान्वयन हुन सकेनन्। सभामुख सुवासचन्द्र नेम्वाङले कयौं पटक प्रतिनिधिसभा विघटन गर्नु हुन्न भनेको मिडियामा बोलेका थिए।
खैर, ओरालो लागेका ओलीको वहिर्गमन चाहेकाहरुले आजका दिनसम्म पनि गालि गरिरहेकै देखिन्छ। ओलीले पनि आफ्ना विरोधिहरुलाई सकि नसकि गालि गरिरहेकै छन्। तर, स्वतन्त्र रुपले विश्लेषण गर्नेहो भने ४१ महिनाको सत्ता बागडोरको समयमा ओलीले नियमित हुनेसँगै केही राम्रा काम पनि गरेका छन्। केही राम्रा प्रयासको सुरुवात पनि गरेका थिए। जो इतिहासमा सम्झिन लायक छन्।
जस्तै: छिमेकी देश चीनसँग गरेको यातायात तथा पारवहन प्रोटोकल, लिम्पियाधुरा सम्मको भूभाग समेटेर ‘चुच्चे नक्सा’ जारी, विद्रोहको बाटो समातेको नेकपा ‘विप्लव’ समूह शान्तिमार्गमा फर्काउनु र पृथक्तावादी गतिविधि गर्दै आइरहेको सीके राउत समूह मूलधारमा ल्याउने काम देश र जनताले सम्झिन लायक काम हुन्। प्रोटोकलको कार्यान्वय र लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरेको चुच्चे नक्साका बारेमा उनका केही कम्जोरी रहे। कार्यान्वयन गर्ने मामिलामा उनी नराम्रोसँग चुके। अब यो जिम्मा नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा आइपुगेको छ।
ओलीले राज्य सयन्त्रहरु प्रधानमन्त्री कार्यालय मातहत ल्याएर शक्ति केन्द्रीकृत गर्न खोजे । भ्रष्टचार देख्न नसक्ने उनको भनाई काहवत बन्यो। कार्य सञ्चालनमा मन्त्रीहरूलाई जिम्मेवार र जवाफदेही बनाउने काममा फेल भए। ओलीले एकातिर काम गर्न नदिएको भनिरहे भने अर्कोतर्फ आफ्नो नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै मिथ्याङ फुकि रहे। पोलपोल र होडिङ बोर्डमा आफूलाई देखेपछि मुस्कानको फोहोरा छोड्ने ओलीको बानि बालुवाटारबाट बाल्कोट पुग्दासम्म पनि देख्न पाइयो।
ओलीबाट देउवाले सिक्नुपर्ने पाठ र गर्नुपर्ने काम
अदालले ओलीलाई अपदस्त मात्रै गरेन। नेपाली कांग्रेसका सभापति देउवालाई असार २८ गते प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारीसमेत गर्यो। गठबन्धनबाट प्रम बनेका देउवाको पाँचौं कार्यकाल कस्तो रहला ? भविष्यले बताउने नै छ। तर, आजका दिनमा केही नलेखि बस्न सकिएन। ओलीलाई जतिसुकै गालि र अपमान गरेपनि उनीबाट देउवाले सिक्नुपर्ने पाठ भने पक्कै छन्। देउवा जनप्रिय नेता होइनन्। तर, उनी बाहेक नेपालमा पाँच पटक प्रम बनेको अर्को व्यक्ति छैन। यो कसरी सम्भव भयो? प्रिय नेता नहुँदा पनि उनको राजयोगले मात्रै प्रम बनिरहेका छन्? त्यो पनि सत्य होइन। सत्य के हो त? सत्य उनको राजनीतिक जीवन संघर्ष नै हो। उनी प्रियहुनु र पदमा पुग्नुबीच भिन्नता छ। उनको जीवन संघर्षबाट उठेको हो। सामान्य जनताको छोरा हुन्। उनले चाहेभने, इच्छाशक्ति राखेभने ऐतिहासिक सफलता हासिल गर्ने देखिन्छ। पञ्चायत कालिन समयका कदमहरुलाई लिएर गणतन्त्रमा उनको मूल्याङकन गर्दा एक पक्षिय हुन जान्छ। रत्नाकर वाल्मिकी बनेको कथा पढ्नेहरुले यो भुल्नु हुँदैन कि मान्छे सुध्रिन्छ, आफूमाथि लागेको असक्षमताको विल्ला हटाउन सक्छ भन्ने कुरा।
देउवा चुनौतिको चाँङमा उभिएका छन्। उनको सामुन्नेमा हेर्दा चुनौति धेरै देखिन्छन्। तर, खास कुरा त्यसो होइन। चुनौतिसँगै अवसरहरु पनि धेरै छन्। उनी कांग्रेसको मात्रै प्रधानमन्त्री होइनन्। लोकतन्त्र, संविधान र शान्ति स्थिरता चाहाने माधव नेपाल, प्रचण्ड, चित्रबहादुर, बाबुराम र उपेन्द्रहरुको गठबन्धनले बनाएको प्रम हुन्।
देउवाले ओलीका कार्यकालमा भए गरे क्रियाकलापहरुलाई मसिनो गरी केलार काम गर्नुपर्ने हुन्छ। सुरुमा उनले आफ्नो किचेन क्याविनेट सक्षम, स्वस्थ, स्वच्छ, पारदर्शी, जिम्मेवार, नैतिकवान र जवाफदेही बनाउनुपर्ने हुन्छ। जनता वा अरु कसैले उठाएका सवालहरुको जवाफ दिदा सजकता अपनाउनु पर्नेहुन्छ। ओलीका दाजुभाई, श्रीमती थिए। तर, ओलीले नातावादको हावा चलाएनन्। देउवाले ओलीबाट सिक्नैपर्ने पाठ यो पनि हो। ओली गुटवादमा रमाएर सक्किए। देउवाले गुटलाई च्यात्न सक्नुपर्छ। बालुवाटारलाई सरकारी सम्पत्ति भएका कारण देउवाले आफ्नो पार्टी वा सत्तारुढ गठबन्धनका बैठकहरु गर्नेमा प्रयोग गर्नु हुँदैन। आलोचना र विरोधलाई सुन्ने धैर्यता राख्नुपर्ने हुन्छ। ओलीले जनताले उठाएका आवाजहरुलाई राम्ररी सुन्न सकेको भए, पार्टी र नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गरेको भए, पार्टीपंक्तिलाई अनुसाशनमा राख्न सकेको भए आजको दिन आउने थिएन कि? यहिँनेर पूर्वराजाहरुले आसेपासेहरुको कुरा सुनेर शासन गर्दा के हालत भएको थियो ? त्यहि प्रवृत्ति ओलीले दोहोर्याउदा के भयो? यि र यस्ता परिघटनाहरुबाट देउवाले सिक्न सकेनन् भने के हुन्छ? भन्न पर्दैन होला।
वरिपरि उभिनेहरु गतिला अनुहारका हुनुपर्छ। विवादित निर्णय नगर्नु नै श्रेष्ठकर हुनेछ। कुनै पनि निर्णय गर्दा गठबन्धनको सल्लाहबिना गर्नु देउवाका लागि हानिकारक सावित हुनेछ। पार्टीको निर्णयलाई मान्ने, गठबन्धनको नीति र रणनीतिको आधारमा देउवाले सरकार चलाउन सकेको खण्डमा इतिहास रच्ने अवसर छ। जनतासँग बोल्दा या अन्तरक्रियामा भाग लिदा आवेग होइन, विवेकको प्रयोग गर्नुपर्ने हुन्छ। पञ्चायतिकार्यकाल भन्दा अघिल्लो कार्यकालमा राम्रो काम गरेका देउवाले पाँचौ कार्यकाल ऐतिहासिक बनाउनेमा दुईमत छैन।
कार्यकाल ऐतिहासिक बनाउन गठबन्धनको भर
माथि उल्लेख गरिए जस्तै उनमा इच्छाशक्ति भयो भने, उनको मनमा पार्टी, गठबन्धन, देशी, विदेशी शक्तिभन्दा माथि उठेर देशको बारेमा सोच्न सके भने, मनमा हरि पलायो भने, राष्ट्र र राष्ट्रियताको बारेमा देउवाले अचुक र ऐतिहासिक काम गर्न सक्नेछन्।
छिमेकी देश चीनसँग गरेको यातायात तथा पारवहन प्रोटोकल, र लिम्पियाधुरासम्मको भूभाग समेटेर ‘चुच्चे नक्सा’ का बारेमा ओलीले आफ्नो कार्यकालमा गर्न सक्ने हुँदाहुँदै पनि ति काम गरेनन्। संसदबाट जोडतोडका साथ नक्सा जारी गर्नमा साथ दिएका प्रचण्ड-नेपालहरुको गठबन्धनको सरकारले चुच्चे नक्साभित्र पर्ने नागरिकहरुलाई जनगणना २०७८ मा सामेल गर्न सक्नुपर्छ। यो काम गर्न सके भने देउवालाई इतिहासले कहिल्यै बिर्सिने छैन। साथसाथै प्रचण्ड-नेपालहरु पनि धन्यवादका पात्र हुनेछन्। भारतसँग तल्काल वार्ता गरेर विवादित भूमिका बारेमा निष्कर्शमा पुग्नुपर्ने हुन्छ। प्रोटोकलका बारेमा उचित निर्णय लिन सक्नुपर्ने हुन्छ। विदेश नीति निक्कै खलबलिएको छ। त्यसलाई स्थिर र समयानुकुल बनाउने अवसर देउवालाई छ। सबैभन्दा धेरै विवादित र छलफल भएको विषय एमसीसीका गलत बुँदाहरु सच्याएर पारित गर्दा विदेश नीतिमा सफल हुनेमा दुईमत भएन।
अन्त्यमा, जनतालाई खोप दिनेकुरा, स्थिरता कायम गर्ने, मूल्यवृद्धि घटाउने, कालो बजारिको अन्त्य गर्ने, स्वास्थ्य, शिक्षा र रोजगारी निमार्ण गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, स्थानीय तहमा उपभोक्ता समितिको नाममा हुने भ्रष्टाचार रोक्नमा ध्यान दिने हो भने देउवालाई हाइहाइ भन्नेहरुको संख्या थपिन्छ, घट्दैन। देउवालाई सफल बनाउने या असफल बनाउने ? सत्तापक्षिय गठबन्धनको ठूलो भूमिका रहने देखिन्छ। देउवा गठबन्धनको सरकारका प्रम भएका कारण उनले गठबन्धनलाई शक्तिको स्रोत मान्नुपर्ने हुन्छ।
मन्त्रीहरु स्वच्छ छवि भएका, कम विवादित जनताले पत्याएका पात्रलाई छान्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा विश्वका अन्य सरकार हिड्दा लक्ष्य भेटाउन सक्नछन् भने देउवा सरकार दौडिनुपर्ने छ। गठबन्धनले जनताको भावना, चाहाना, इच्छाअनुरुप चल्नुको विकल्प छैन। विकास, समृद्धि, सुशासन, पारिदर्शीता, काम, नीति, रणनीतिका बारेमा गठबन्धनले दिगो अर्थ र महत्वराख्ने खाका तयार पार्नुपर्छ। ओलीको कार्यशैलीबाट यो गठबन्धनले पार्टी, संसद र राष्ट्रियताको बारेमा गम्भीर बन्नुपर्नेछ। ओलीलाई नक्कलि राष्ट्रवादी भनेर नथाक्ने कांग्रेस, प्रचण्ड, नेपालहरुले खासगरी सचेत बन्नुपर्नेछ। ओलीले चिनसँग बिगारेको परराष्ट्र सम्बन्ध र भारतसँग झुकेको देशको शीर उठाउने मौका यहि गठबन्धनले पाएको छ।