काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ।
कतारको दोहास्थित अप्सेटर अस्पतालमा बिहीबार उनको घुँडाको शल्यक्रिया गरिएको हो। भण्डारीको उपचारमा कतार फुटबल संघले सहयोग गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो। दश दिनको क्वारेन्टिनपछि उनी यसै साता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्।
भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छन्। सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन। यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो।