काठमाडौँ। युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ।
बिहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँडमा कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।
कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए। बाँकी ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारणबाट रद्ध भएको र ६५ हजार १७५ जनाको अन्य कारणबाट आवेदन रद्ध भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले गत असार २४ गते देखि २८ गते सम्म खुल्ला गरेको कूल सेयर ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेभसाइट तथा सिडिएससीको वेभसाइट एवं युनियन लाइफ इन्स्योरेन्सको वेबसाइटबाट हेर्न सकिन्छ।