गठबन्धनको सुझाव र रणनीतिअनुसार काम गर्छु: प्रम देउवा



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको भावना, सुझाव, सल्लाह र रणनीतिका आधारमा अघि बढ्ने बताएका छन्।

बिहिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। बैठकमा नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिएका छन्।

छलफलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए। भोलिबाट मन्त्रिपरिषद विस्तारबारे गठबन्धनले तयारी थाल्नेछ।