काठमाडौं। सार्वजनिक सवारी साधनको भाडा वृद्धिविरुद्ध पाँच विद्यार्थी संगठनले आन्दोलन गर्ने घोषणा गरेका छन्।
सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा गर्ने घोषणा पाँच विद्यार्थी संगठनले बिहीबार गरेका हुन्।
अखिल (छैठौं) को कार्यालमा बसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो।
पाँच विद्यार्थी संगठनको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं।’
साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बैठकमा सहभागी अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
त्यसैगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ मात्रै घटाएकोमा पाँच विद्यार्थी संगठनले असन्तुष्टि जनाएका छन्। उनीहरूले निगमले २०७१ पछि विद्यार्थी आन्दोलनको मागलाई आंशिक सम्बोधन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताएका छन्।
विद्यार्थी संगठनले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता गरेको आरोप लगाएका छन्।
कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) ले आन्दोलनको घोषणा गरेका हुन्।