एमाले एकता रोक्न धम्कीपूर्ण फोन आयो: भीम रावल



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी विभाजन रोक्ने प्रयास नगर्न आफूलाई धम्की आएको बताएका छन्।

उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन्।बुधबार विज्ञप्ति जारी गर्दै रावलले भनेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ।’ एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो।

माधव नेपाल समूहका नेता रावलको ओलीसँग निकटता बढेको र उनले पदकै लागि कार्यदलमा सहमति गरेको भन्दै टिप्पणी भइरहेका छन् । तर उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार प्रकाशित गरिएको बताएका छन्।

एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताए।