काठमाडौँ। प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ।
देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख नगरेपछि शपथको समय केही पर धकेलियो। राष्ट्रपति देशको अभिभावक पनि हो। यसको आधारमा त्यो पदमा बसेको पात्रले सबैलाई समान व्यवहार गर्नु अनिवार्य पनि हो। तर, हिजो राति शीतलनिवासमा जे देखियो त्यो निक्कै अश्वभाविक देखिन्थ्यो। देउवाको अडानको अघि राष्ट्रपति कार्यालय झुक्यो। नियुक्ति पत्रमा संविधानको धारा समावेश गरेपछि देउवाले शपथ लिए। कथा त्यतिमै सिमित रहेन।
ओलीले शपथ लिदा चम्किलो मुहार देउवालाई शपथ खुवाउँदा राष्ट्रपतिकाे अनुहार निलो पिरो किन भयो? शपथपछि पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट अस्वाभाविक शैलीमा किन बाहिरिइन् ? आम जनताले प्रश्न गरिरहेका छन्। के राष्ट्रपतिले नैतिकताको आधारमा राजिनामा दिने मनसाय झल्किाएकी हुन्? प्रश्नहरु उठ्न थालेका छन्।
शपथपछि प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनु राष्ट्रपतिको आधारभूत र औपचारिक दायित्व पनि हो। तर न्यूनतम औपचारिक शिष्टता पनि पूरा नगरी राष्ट्रपति समारोहबाट बाहिरिइन्। दुई दुई पटक संसदको हत्या गरेका भण्डारी र केपी ओली दुवैको व्यवहार अश्वभाविक देखियो। शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री ओली पनि सहभागी भएनन्।
देउवालाई पहिलो बधाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दिएका थिए। त्यसपछि माओवादी अध्यक्ष दाहाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बधाई दिए। सर्वोच्च अदालतले सोमबार संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेको थियो । यो सरकारले विश्वासको मत लिन नसके नयाँ निर्वाचनको बाटो तय हुन्छ । तर, राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेर भविष्यमा अर्को हत्कण्डाको पृष्ठभूमि बनाएको आशंकामा गठबन्धनका नेता सजग बने।