पहिलो दिनमै भण्डारी र देउवाबीच ‘टसल’



काठमाडौँ। राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाबीच पहिलो दिनमै टसल सुरु भएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासले मंगलबार साँझ ६ बजे शपथ ग्रहणका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएको थियो। नवनियुक्त प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट शीतल निवास हिँड्ने तयारी गरिरहेकै थिए।

तर, दिउँसो राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति पढेपछि देउवा झस्किए। राष्ट्रपति कार्यालयका तर्फबाट सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित एक वाक्यको विज्ञप्तिमा देउवाको नियुक्तिबारे लेखिएको थियो, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८÷३÷२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’

यो पढिसकेपछि देउवा दोधार बने। चौतर्फि संविधानको धारा उल्लेख नगरिएको नियुक्ति असंवैधानि हुने भन्दै अबरदारी भयो। अन्ततः देउवाले अरु सबैलाई शीतलनिवास पठाए तर, आफू थएनन्। राष्ट्रपतिले नियुक्ति सच्याएपछि मात्रै देउवाले सपथ लिए। यसरी राष्ट्रपतिको व्यवहारबाट देउवा झस्किएका छन्। साथै सुरुकै दिन टसल देखिएको छ।