‘जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा’



काठमडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत आफ्नो पक्षमा रहेको र सर्वोच्च अदालतले परमाआदेश शेरबहादुर देउवाको पक्षमा पारेको जिकिर गरेका छन्।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अदालत र विपक्षि गठबन्धनमाथि खनिएका ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि कटाक्ष गर्नमा लामो समय खर्चेका छन्। उनले भनेका छन्, ‘पार्टीभित्र बसेर विपक्षि गठबन्धन गर्ने, विद्रोहको नाममा अनुशासनहिन काम गर्नेहरुले के के गरे? जनतालाई थाहा छ।’

सरकारले जनताको पक्षमा काम गरेको अवस्थाबाट आत्तिएर आफ्नो विरुद्धमा गठबन्धन बनेको दावी गरे। उनले अदालतको आदेश आफ्नो विरुद्धमा भएको तर, अदालतको आदेश कार्यान्वयन गरेर अघि बढ्ने बताए। राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला गरेको थियो।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो। संविधानको धारा ७६ को उपधारा ५ मा ओली दाबी गर्न अयोग्य रहेको पनि परमादेशमा लेखिएको थियो। यसतर्फ उल्लेख गर्दै मंगलबार ओलीले भने, ‘जनताको जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु।’

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए। उनले भने,‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधिरित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बनने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं।’

सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन्। आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे। ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन। इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु। विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ओलीले भने।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे। ‘जनताले राहत महसुस गरेको छ। त्यसकारण म बिदाइप्रति खुसी छु। ढुक्क छु। चिन्ता छैन।’