महान्यायाधिवक्ता बडालद्वारा राजीनामा



काठमाडौँ। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुने भएकाले महान्यायाधिवक्ताले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता बडालले मंगलबार प्रधानमन्त्री ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका हुन्।

पदबाट राजीनामा दिएसँगै महान्यायाधिवक्ताको कार्यालयले बडालको बिदाई कार्यक्रम राखेको छ। महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी गोकुलबहादुर निरौलाले महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको र १ बजे बिदाई कार्यक्रम राखिएको जानकारी दिए।

बडाललाई २०७७ चैत ६ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। उनले चैत ८ गते पदबहाली गरेका थिए। अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरिएको थियो।

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा महान्यायाधिवक्ता बडालले बहस गरेका थिए। तर, प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ताले राजीनामा गरेका हुन्। मिना गर्नेलाई सरकारी जग्गा भोगचलनका लागि दिएको प्रति आपत्ति जनाएका छन् ।