काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार (आजै) प्रधानमन्त्रीको पदको सपथ लिने भएका छन्।
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले साँझ ५ बजेतिर सपथ लिने राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको तयारी छ।
सोममबार सर्वोच्च अदालतले मंगलबार अपरान्ह पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो। सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।
मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ। संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।