युरोकप फुटबलको उपाधि इटालीलाई



काठमाडौँ। गोलकिपर गियानलुईगी डोनीरुम्माले निर्णायक प्रदर्शन गरेपछि इटालीले इङल्यान्डलाई हराएर युरोकप फुटबलको उपाधि जितेको छ। इङल्यान्डलाई टाइब्रेकरमा इटालीले ३–२ ले हराएको हो।

इटालीबाट डोमिनिको बेरार्डी, लियोनार्दो बनुची र फेडरिको बर्नार्डस्कीले गोल गरे। त्यस्तै, आन्द्रेइ बनोट्टी र जर्जिन्होको प्रहारलाई इंलिस गोलकिपर जोर्डन पिकफोर्डले जोगाए।

पिकफोर्डले जर्जिन्होको प्रहार जोगाउँदा खेल ३–२ को अवस्थामा थियो र अन्तिम पेनाल्टी प्रहार गरेर इङल्यान्डले बराबरी गर्ने आशा बाँकी थियो। तर, बुकाया साकाको प्रहारलाई इटालीका गोलकिपर गियानलुईगी डोनीरुम्माले बचाऊ गरेपछि इङल्यान्ड पराजित भयो। इङल्यान्डबाट ह्यारी केन र ह्यारी मग्वायरले मात्रै पेनाल्टीमा गोल गरे। रासफोर्डको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरियो भने जाडन सान्चोको प्रहारलाई डोनीरुम्माले बचाए।

निर्धारित र अतिक्ति समयमा बराबरी

यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए। यता, इटालीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए।

अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन्। इटालीले युरोकप जितेको यो दोस्रो अवसर हो। यसअघि १९६८ मा इटालीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटाली पराजित भयो।