‘सहकार्य र सहमतिको आधारमा १४औं महाधिवेश सम्पन्न गरौं’



जुम्ला। नेपाली कांग्रेसका युवा नेता तथा जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले सहमति र सहकार्यका आधारमा आसन्न पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता शाहीले पार्टीको १४औं महाधिवेशनलाई सहकार्य र सहमतिको बाटोमार्फत सम्पन्न गर्न अनुरोध गरेका हुन्। उनले लेखेका छन्, ‘सहमति, सहकार्य,एकता, आजको आवश्यकता र अपरिहार्यता हो। कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र सक्कली लोकतन्त्रको परिपाटी सजीव रहन सक्छ वा सक्दैन ? भनेर सबैमा चिन्ता र चासो जागेको छ। चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपाटी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जाला?’

उनले अगाडि लेखेका छन्, ‘आफू बाँचुन्जेल सत्ता र शक्ति बाहिर रहन नसक्ने सोच, चिन्तन र व्यवहार बोकेको नेताले पार्टीभित्रको आन्तरिक लोकतन्त्र जोगाउन सक्छन् कि सक्दैनन् ? इतिहासले मुल्याङ्कन गर्नेछ? खासगरी जुम्ला जिल्लाका ६० वटै वडा अधिवेशन ७ वटै गाउँपालिका र चन्दननाथ नगरपालिकामा सहमति, सहकार्य, एकताकासाथ सबै अधिवेशन सफलतापृर्वक सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु।’

नेता शाहीले समृद्ध देश र सुदृढ कांग्रेस निर्माणको लागि १४औं महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्नु आजको मुख्य विषय भएको भन्दै सबैलाई महाधिवेशनतर्फ केन्द्रीत हुन अनुरोध गरेका छन्।