काठमाडौँ। वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेसीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ।
उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ। ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला–बेलामा गर्ने गरेका छन् । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो।
२००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेसीले आइतबार कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन्।
ठिक, यहींनेर नेइमारको सपनामा धक्का लाग्यो। ठूला प्रतियोगिताको उपाधि उचाल्ने उनको सपना पूरा हुन सकेन। नेइमारले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक स्वर्ण जितेका छन्। तर, यी दुबै प्रतियोगितालाई ठूलो प्रतियोगिता मानिँदैन।
नेइमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले घरेलु मैदानमै आयोजित २०१४ को विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो। तर घाइते भएकाले उनले सेमिफाइनल खेल्न पाएनन्, जहाँ जर्मनीले घरेलु टोलीलाई ७–१ ले हरायो।
२०१८ को विश्वकपमा नेइमारको ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरियो। २०१९ मा ब्राजिलले कोपा अमेरिका जितेको थियो। तर, यतिबेला चोटका कारण नेइमार टोलीमा थिएनन्।