बिएण्डसी अनुगमन टोलीबाट अलग्गिए डा.अधिकारी



काठमाडौं। झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज अनुगमन टोलीका सदस्य डा. भोजराज अधिकारी टोलीबाट अलग भएका छन्।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष र कार्यकारी समितिलाई पत्र लेख्दै प्रस्तावित बिएण्डसी मेडिकल कलेजको अनुगमनमा टोलीबाट भएगरेका काममा आफ्नो कुनै संलग्नता नरहेको र प्रतिवेदन समेत बुझाउन नसक्ने जानकारी सहितको पत्र लेख्दै डा. अधिकारी सो टोलीबाट अलग भएका हुन्‌।

बिएण्डसी अनुगमन गर्न आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीद्वारा गठित तीन सदस्यीय अनुगमन टोलीमा डा. अधिकारी सदस्य थिए। डा. प्रकाशराज पाण्डे संयोजक रहेको टोली बिएण्डसी अनुगमन गर्न असार ६ गते झापा पुगेको थियो। टोलीले असार ७ र ८ गते अनुगमन गरेको थियो।

डा. अधिकारी आयोगका उपाध्यक्ष डा. गिरी र बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंबीच अदालतमा विचाराधीन रहेको गाली-बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका थिए।

२८ जेठमा बसेको आयोगको बैठकले ७ दिनभित्र बिएण्डसीको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यकारी समितिलाई निर्देशन दिएको थियो।

कार्यकारी समितिका अध्यक्ष रहेका उपाध्यक्ष डा. गिरीले गोप्य रुपमा प्रा.डा. प्रकाश पाण्डे संयोजक, प्रा.डा. रमेश आचार्य र सेमन्त कोइरालालाई आयोगका प्रतिनिधि र डा. भोजराज अधिकारी विज्ञ सदस्य रहेको टोली गठन गरेका थिए।

सो टोली ७ र ८ असारमा झापा गएर अनुगमन गरी फर्किएको थियो। झापाबाट फर्किएको टोलीले ११ असारमा प्रारम्भिक प्रतिवेदन लेखेको थियो।