एमाले विवाद: समाधानका लागि गठित कार्यदल सहमति नजिक



काठमाडौँ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिबकरिब सहमति जुटेको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन्। ‘कार्यदलको आजको बैठक निकै लामो र सघन छलफलमा बिताएका छौं। झन्डैझन्डै ७ घण्टा ब्यतित गरेका छौं।

पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं, ’बैठकपछि कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने, ‘सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जन लगायतका केही विषयहरुमा भोलि केहीबेर बस्न पर्ने भएको छ।

तर, अहिलेका जति पनि प्रश्न छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइ पुर्‍याएका छौं। एमाले नेता कार्यकर्ताको चिन्तलाई दूर गर्नेगरी भोलि सहमतिका साथ टुंग्याउँछौं।’

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताए। ‘छलफल गर्दै जाँदा समय अभाव भयो। बाँकी रहेका विषय भोलि टुंग्याउँछौं । हामी सहमति गर्छौं,’ विष्टले भने।