मनकामनाको आईपीओ सोमबार बाँडफाँट गरिने



काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो। संस्थाले ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो। प्रिअलटमेन्ट नतिजा अनुसार आवेदन मध्ये ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको सेयर हात पार्ने छन्।