सुर्खेत। नेपाल पत्रकार महासंघले ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ का प्रावधानप्रति असहमति जनाउँदै कर्णाली प्रदेश सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएको छ ।
महासंघको प्रदेश समितिले बिहीबार सभामुख राजबहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
महासंघले प्रतिष्ठानको सञ्चालक समिति अध्यक्ष मन्त्री हुने प्रावधान, समितिमा महासंघको सहभागिता, कार्यकारी निर्देशकको नियुक्ति र योग्यताजस्ता विषयमा असहमति जनाएको छ । प्रतिष्ठान स्वायत्त संस्था हुन नसक्ने महासंघको भनाइ छ । गत आर्थिक वर्षमा गठन आदेशबाट प्रतिष्ठान स्थापना गर्न खोजिए पनि सरोकारवालाको विरोधपछि संसद्मा विधेयक दर्ता भएको थियो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने जस्तो महत्त्वपूर्ण ऐन निर्माणमा सरोकारवालालाई गुमराहमा पारिएको बताए । उनले संसद्मा दर्ता भइसकेको विधेकयलाई फिर्ता ल्याई महासंघलगायत सरोकारवालासँग छलफल गरेर पुन:प्रक्रियामा अघि बढाउन आग्रह गरे ।