काठमाडौँ। बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन्। दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन्।
ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन्। रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो तथ्य अब एक खेलाडीका लागि भने परिवर्तन हुनेछ । ६ पटकका बालोन डे ओर विजेता मेसी चौथो पटक कोपा अमेरिका फाइनल खेल्दैछन् । र, सम्भवतः उनका लागि उपाधि जित्न यो अन्तिम अवसर हुन सक्छ ।
ब्राजिलमै भइरहेको ४७औं संस्करणको कोपामा मेसीले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर बनाएका छन् । दुवै विधामा उनी शीर्ष स्थानमा छन् । तर ३४ वर्षीय मेसीका लागि यो अन्तिम कोपा हुन सक्नेछ भने अर्को वर्ष हुने विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा उनको लागि अन्तिम हुन सक्नेछ ।
अहिलेसम्म हेर्ने हो भने फाइनलले मेसीलाई निराश बनाइरहेको छ । मेसीले सन् २००७, २०१५ र २०१६ को कोपा फाइनल हारेका छन् । यस्तै २०१४ को विश्वकपमा पनि फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।
अधिकांशले भन्ने गरेका छन्– अर्जेन्टिनाका लागि केही जित्नु नै मेसीको लागि बाँकी रहेको व्यावसायिक लक्ष्य हो । ‘हामी उनलाई यो लक्ष्य पूरा गर्नबाट रोक्नेछौं,’ ब्राजिलियन सेन्टर ब्याक माक्र्विन्हवसले भनेका छन्, ‘मेसीले जस्तै हामीसँग पनि त्यस्ता खेलाडी छन् जो उपाधि जित्न लायक छन् । हाम्रो आफ्नै ने नेमार जस्तै जो पछिल्लो पटक कोपामा थिएनन् ।’
२९ वर्षका नेमारका लागि अझ केही समय बाँकी छ । तर दुई वर्षअघि ब्राजिलले पेरुलाई फाइनलमा ३–१ ले पराजित गर्दै नवौं पटक कोपा जित्दा उनी घाइते थिए र कोपामा सहभागी थिएनन् ।
तर दुई सुपरस्टार खेलाडी शनिबार फरक टिमबाट मैदान उत्रिँदा यो खेल दुई हेभिवेट्सको बीच क्लासिक खेल हुनेछ। ‘हामी हाम्रो एटरनल राइभल विरुद्ध फाइनल खेल्न गइरहेका छौं। दक्षिण अमेरिकाका दुई शक्तिशाली राष्ट्रिय टिम। र, हामीलाई आशा छ यो उत्कृष्ट खेल हुनेछ,’ अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले भने ।
‘ब्राजिल भर्सेस अर्जेन्टिना फुटबलको खेलभन्दा पनि धेरै कुरा हो । यी जर्सीले विश्वलाई आफ्नो खेल हेर्न माहोल बनाउँछ । जसले ब्राजिल र अर्जेन्टिनाको इतिहासलाई प्रतिनिधित्व गर्छ,’ मार्किन्होसले थपे ।
अर्को रोचक तथ्य के छ भने यी दुई राष्ट्र कोपा अमेरिकाको सबैभन्दा सफल टिम होइनन् । उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। ब्राजिलले ९ पटक मात्र जितेको छ । कोपाको ४७औं संस्करणसम्म आइपुग्दा नकआउट फर्म्याटमा यी दुई टोली चौथो पटक फाइनल खेल्न लागेका हुन्। जसमा १९३७ मा अर्जेन्टिना विजयी भएको थियो भने २००४ र २००७ मा ब्राजिलले जितेको थियो।
इतिहास हेर्ने हो भने अहिलेसम्म यी दुई टोली १०० भन्दा बढी पटक खेलिसकेका छन्। यसपटक कोपामा यी दुई टिम सबैभन्दा बलिया देखिएका छन्। यद्यपि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई हराउन पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो।
म्यानचेष्टर सिटीबाट खेल्ने गाब्रिएल जेसस प्रतिबन्धमा रहे पनि सेमिफाइनलमा पेरुलाई पराजित गर्दा ब्राजिलले लिभरपुलका रोवर्ट पिर्मिनो, फ्लेमेङ्गोका गाब्रिएल बारबोसा र रियल मड्रिडका भिनिसियस जुनियरलाई बेन्चमै राखेको थियो।
मिडफिल्डमा लिभरपुलका फाबिन्हो पनि खेलेनन्। म्यानचेष्टर युनाइटेडका फ्रेडले अवसर पाएका थिए। यस्तै पेरिस सेन्ट जर्मेनका विंगर एन्जल डि मारियाले अधिकांश समय बेन्चमा रहेर शुरुवात गरेका छन्। यस्तै बार्सिलोनामा अनुबन्ध भएका सर्जियो अगुएरोले पनि बिरलै अवसर पाएका छन्।
मेसी र इन्टर मिलानका लाउटारो मार्टिनेजले अर्जेन्टिनाको अट्याकिङ सम्हालिरहेका छन्। तर उनीहरुसँग क्षमता र सिर्जना पनि छ । ‘अर्जेन्टिना भनेको लाउटारो र मेसी मात्र होइन। हामीले उनीहरुलाई मात्र ध्यान दिएर हुँदैन,’ ब्राजिल तथा रियल मड्रिडका मिडफिल्डर कासेमिरोले भने,’ उनीहरु राम्रा खेलाडी हुन्, विश्वस्तरीय खेलाडी हुन् तर यदि अर्जेन्टिना फाइनल पुगेको छ भने यो उनीहरुको सबै समूहले गर्दा हो, हामीले त्यसलाई सम्मान गर्नुपर्छ।’
करियरकै उपाधिको खडेरी तोड्ने लक्ष्यमा रहेका मेसीले शनिबार अर्को इतिहास पनि बनाउन सक्नेछन्। मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७६ गोल गरेका छन् र दक्षिण अमेरिकी राष्ट्रहरुमा ब्राजिलका पेलेको ७७ गोल भन्दा एक गोलले मात्र पछि छन्।