युरोकपको फाइनलमा इङल्यान्ड र इटली



काठमाडौँ। इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ। डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो।

१९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए।

ड्याम्सगार्डले २० यार्ड परबाट सिधैं गोलपोस्टको टप कर्नर ताकेर फ्रिकिक प्रहार गरेका थिए। जारी युरोकपमा इङल्यान्डले खाएको यो नै पहिलो गोल हो। त्यसैगरी जारी युरोमा डाइरेक्ट फ्रिकिकमार्फत भएको यो पहिलो गोल हो।

घरेलु मैदान बिम्बलीमा बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेपछि इङल्यान्डले ३९ मिनेटमा खेल बराबरी ग¥यो। र, अतिरिक्त समयमा ह्यारी केनले निर्णायक गोल गर्दै इङल्यान्डलाई विजयी गराए। इङल्यान्डले अब फाइनल खेलमा इटलीको सामना गर्नेछ। स्पेनलाई टाइब्रेकरमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो।

इङल्यान्डको पोस्टमा ७ सय २६ मिनेटपछि पहिलो गोल जोर्डन पिकफर्डले इङल्यान्डका लागि लामो समय गोल नखाने किर्तिमान यसै खेलमार्फत राखे, तर उक्त किर्तिमानलाई ५ मिनेटभन्दा धेरै लम्ब्याउन पाएनन्।

३०औं मिनेटमा डेनमार्कका ड्याम्सगार्डले गोल गर्नुअघि २७ वर्षीय पिकफोर्डले अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने इंलिस गोलकिपरको किर्तिमान आफ्नो नाममा लेखाइसकेका थिए।

खेलको २५ औं मिनेटमा आइपुग्दा पिकफर्डले कुल ७ सय २१ मिनेटसम्म गोल नखाएर गोर्डन ब्याङ्क्सको पुरानो किर्तिमान तोडेका थिए। ब्याङ्क्सले १९६६ को विश्वकप जित्ने क्रममा ७ सय २० मिनेटसम्म कुनै गोल खाएका थिएनन्।

जारी युरोमा लामो समयसम्म गोल नखाने किर्तिमान पनि पिकफोर्डकै नाममा रह्यो, युरोमा यसअघिका ५ खेलमा पिकफर्डले कुनै गोल खाएका थिएनन् । अन्तर्राष्ट्रिय फुटबल लामो समय गोल नखाने किर्तिमान भने इटलीका गियानलुइगी डोनारुम्माको नाममा छ ।

उनले यही प्रतियोगिताअन्तर्गत अन्तिम १६ को खेलमा अस्ट्रियाविरुद्ध गोल खानुअघि ११ सय ६८ मिनेटसम्म गोल नखाने किर्तिमान बनाएका थिए । यसक्रममा इटलीले ११ वटा अन्तर्राष्ट्रिय खेलमा कुनै गोल खाएको थिएन, जसमा जारी युरोका समूह चरणका तीन खेल पनि समावेश छन् ।

इटलीकै पूर्व गोलकिपर डिनो जोफको नाममा रहेको ११ सय ४२ मिनेटसम्म गोल नखाने किर्तिमानलाई डोनारुम्माले तोडेका हुन्, डिनो जोफले १९७२ देखि १९७४ सम्म यस्तो किर्तिमान राखेका थिए ।