यी हुन् कर्णालीमा सभापतिका आकांक्षी



काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ। पार्टीभित्रका समूहले आफ्नो उम्मेदवार तयार गर्न आन्तरिक छलफल अघि बढाएका छन्।

कर्णाली प्रदेशका १० जिल्लामा संस्थापन र इतर समूह आसन्न जिल्ला अधिवेशनमा भिडाउने प्रत्यासीको टुंगो लगाउने क्रममा छन्। कर्णालीमा गत जिल्ला अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापति तुलनात्मक रुपमा बढी निर्वाचित भएका थिए।

प्रदेश राजधानी रहेको जिल्ला सुर्खेतमा यसअघि वरिष्ठ नेता पौडेलपक्षका कमलराज रेग्मी निर्वाचित भएका थिए। रेग्मी यसपटक पनि सोही समूहबाट प्रत्यासी हुने सोचमा छन्। पार्टी महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत रहेको सुर्खेतमा संस्थापनपक्ष जित निकाल्ने सुरमा छ। संस्थापनपक्षले प्रदेश सरकारका मन्त्री यज्ञबहादुर बीसीलाई अघि सार्ने बताइएको छ। उनी गत महिना सामाजिक विकासमन्त्रीमा नियुक्त भएका थिए। सभापति शेरबहादुर देउवाको टिमबाट सभापतिका अर्का आकांक्षी, जिल्ला सचिव टोपबहादुर राउत छन्।

दैलेखका जिल्ला नेता घनश्याम भण्डारी संस्थापनपक्षबाट सभापतिमा लड्ने तयारीमा लागेका छन्। उनी क्षेत्रीय सभापति तथा दुल्लु नगरपालिकाका मेयर हुन्। पौडेलपक्षबाट भूपेन्द्र शाही र मणिराम रेग्मी सभापतिका प्रत्यासी छन्। शाही जिल्ला तहका नेता हुन् भने रेग्मी जिल्लाका सिनियर नेता हुन्। क्षेत्रीय सभापति गणेश उपाध्याय पनि आकांक्षी देखिएका छन्।

कालिकोटका जिल्ला सभापति हर्ष बमले फेरि सोही पदको इच्छा राखेका छन्। वर्तमान उपसभापति शंकर उपाध्याय पनि आकांक्षी देखिएका छन्। संस्थापनइतर समूहमा बमको निकटता छ। देउवापक्षका हिम्मत विष्ट बलियो दाबेदार हुन्। तर, उनी बिरामी परेर उम्मेदवारी दिन नसक्ने अवस्थामा रहेको बताइएको छ। देउवा टिमबाट नै मोतिराज बम आकांक्षी छन्। उनी महासमिति सदस्य हुन्। सोही समूहबाट दमन शाही पनि छन्। सहसचिव रहेका उनले देउवा टिमबाट प्रत्यासी हुने लाइनमा छन्।

केन्द्रमा बनेको समीकरणअनुसार जिल्लाका नेताहरु पनि अदलबदल हुने भएकाले को कतापट्टि भन्ने कुराले धेरै अर्थ नराख्ने कर्णालीका एक केन्द्रीय नेता बताउँछन्।

जुम्लामा दीपबहादुर शाही फेरि दोहोरिने प्रयासमा छन्। शाही पौडेल पक्षसँग निकट छन्। देउवापक्षबाट कान्तिका सेजुवाल सभापतिमा दाबी गर्ने मनस्थितिमा छन्। देउवापक्षबाटै हालका जिल्ला सचिव कर्ण शाही पनि सभापतिको उम्मेदवारी दिने ध्याउन्नमा छन्।

मुगुमा खड्गबहादुर शाही थप एकपटक सभापतिको आकांक्षी देखिएका छन्। बाहिर सभापतिको प्रत्यासी हुँ नभने पनि भित्री चाहना उनले राखेको बताइएको छ। उनले अघिल्लो अधिवेशनमा अहिलेको उपसभापति खगेन्द्र मल्ललाई सभापति बनाउने वचन दिएका थिए। संस्थापनइतर पक्षबाट मल्ल सभापतिको बलियो दाबेदार रहेका छन्। देउवा टिमबाट ऐनबहादुर शाहीले उम्मेदवारी दिने तयारी गरेका छन्। उनी भूतपूर्व सभापतिसमेत हुन्।

२०७२ सालको जिल्ला अधिवेशनबाट डोल्पा सभापति बनेका अंगतकुमार बुढा एक पटक फेरि सोही पदमा निर्वाचित हुने चाहना राखेका छन्। उनी संस्थापनइतरका हुन्। देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका कर्णबहादुर बुढा संस्थापनइतरबाट सभापतिको प्रत्यासी हुने इच्छा व्यक्त गरेका छन्।

हुम्लाका जयपति रोकायाको दुई कार्यकाल सकिएको छ। उनी देउवापक्षका जिल्ला सभापति हुन्। प्रदेश सभामा पराजित थानबहादुर रोकायालाई पौडेल समूहले उठाउने बताइएको छ। देउवापक्षबाट पार्टी सचिव रहेका मोहन सिंहको सम्भावना छ।

जाजरकोटमा अघिल्लोपटक सभापति उठ्दा तीन मतले हारेका देवराज सिंह पौडेलपक्षबाट उठ्दै छन्। सोही समूहबाट मुक्ति आचार्य पनि सभापतिको आकांक्षी छन्। देउवाको पक्षबाट लड्ने उम्मेदवार खुलिसकेका छैनन्। देउवापक्षीय नेता राजीव शाहको निर्देशनअनुसार उक्त पक्षका सभापतिका प्रत्यासी हुने सम्भावना छ।

जिल्ला नेता सनक कार्की सर्वसहमतिमा बन्ने प्रयासमा छन्। इलम शाहीको पनि जिल्लामा चर्चा सुरु भएको छ। उनी शिक्षक संघको कर्णाली प्रदेशका अध्यक्ष हुन्। जिल्लामा लोकप्रिय रहेका उनले जागिर छोडेर सभापतिमा उठ्ने मनस्थितिसमेत बनाएको बताइएको छ।

सल्यानमा ध्रुव पुरी सभापति बन्ने ध्याउन्नमा छन्। उनी देउवा पक्षधर हुन्। पछिल्लो समय उनी संस्थापनइतरतिर नजिकिएको बताइएको छ। पुरी जिल्ला विकास समितिको सभापति भइसकेका जिल्ला नेता हुन्। जिल्ला समन्वय समितिको सभापति रहेका केशबहादुर डाँगी पनि उक्त जिल्लाबाट दाबी गर्ने मनस्थितिमा छन्।

पश्चिम रुकुममा प्रत्यासी कम रहेको बताइएको छ। गत अधिवेशनबाट विजयी प्रेमप्रकाश वलीलाई दोहोर्‍याउने पक्षमा पौडेल समूह छ। अन्य उम्मेदवार बनाए जित्न नसकिने उक्त पक्षको बुझाइ छ। वलीसँग २०७२ सालमा पराजित भएका कृष्णबहादुर रोकायालाई संस्थापन पक्षले सभापतिमा उठाउने भएको छ।

केन्द्रमा बनेको समीकरणअनुसार जिल्लाका नेताहरु पनि अदलबदल हुने भएकाले को कतापट्टि भन्ने कुराले धेरै अर्थ नराख्ने कर्णालीका एक केन्द्रीय नेता बताउँछन्। साउन २३ मा एक निर्वाचन क्षेत्र भएको जिल्ला र साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।

साभारः नेपाल लाइभ