काठमाडौँ। नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन। राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए। दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए।
विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर डिभिजनल इञ्जिनियर महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारको दिन अध्ययनका लागि पुल्चोक पठायो। रमाइलोचाहिँ जुन दिन कर्मचारी मन्त्री क्वार्टरमा खटिए, सोही दिन सर्वोच्चले मन्त्रीको पद खाइदियो।
पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लक छन्। मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले कहाँ के बिग्रिएको छ? कुन सामग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनअनुसार सी फोर र डी २ ब्लकबाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने, कतै फ्लस बिग्रिएको, बत्ती बिग्रिएको, प्यान फेर्नुपर्ने, ढलको पानी बाहिर बग्ने गरेकोलगायत समस्या छ।
ए वानभित्र ५ वटा ब्लक छन्। जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको, मुख्य प्रवेशद्वारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको छ। यस्तै, ब्लक बीभित्र रहेका ४ वटा क्वार्टरमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने, डोरम्याट नआएको समस्या टिपोट भएको छ।
ब्लक सीभित्र ५ वटा भवन रहेकोमा प्रिन्टर, टेलिफोन सेटको अभाव, वाइफाइको स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको छ। डी ब्लकमा ५ वटा भवन रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने, पानी चुहिने, इन्भर्टर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्नेलगायत समस्या छ। दिउँसोसम्म सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपू भइसकेका थिए। यो समाचार जनआस्था साप्ताहिकमा छ।