काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले कहिल्यै प्रभूत्व वा विस्तारवाद नखोज्ने बताएका छन्। चीन सधैं विकासशील विश्वको सदस्य रहने उनले बताए।
चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षगाँठको उपलक्ष्यमा विश्वका विभिन्न पार्टीका नेताहरुलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीले यस्तो बताएका हुन्। भर्चुअल रुपमा आयोजित सम्मेलनमा विश्वका ५ सयभन्दा धेरै राजनीतिक पार्टीका नेताहरुको सहभागिता थियो। वर्तमान विश्वका चुनौतीहरु सामना गर्नका लागि बहुराष्ट्रियता र सहकार्यमा जोड दिइनुपर्ने उनले बताए।
विकासका लागि पनि यस्तो सहकार्य जरुरी रहेको उनले बताए। ‘विकास केवल केहीले लाभ उठाउने कुरा होइन। र, अन्य देशको विकास रोक्ने कुरा कहिल्यै स्वागत योग्य हुन्न,’ सीले भने।
विकास र सहकार्यममा सबै देशलाई माथि उठाउन जरुरी रहेको उनले बताए। उनले विकासको फल पनि सबैले बाँडेर खाने बताए। विश्वबाट गरिबी न्युनिकरण गर्नका लागि चिनियाँ समाधान र चिनियाँ सामर्थ्य लगाउन चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको उनले बताए। कोभिड १९ विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्य गर्नका लागि चीनले कुनै कसर बाँकी नराख्ने उनले बताए।