इटाली युरोकप फुटबलको फाइनलमा



काठमाडौँ। टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ।

स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो। यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो।

लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए।

१९६८ को युरो विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनलमा पुगेको थियो। त्यस, प्रतियोगितामा स्पेनले नै इटालीलाई ४–० ले हराएको थियो । अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

इटालीको अपराजित खेल संख्या ३३ पुग्यो

यसैबीच अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ। सेप्टेम्बर २०१८ यता इटाली अपराजित छ। उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ।

इटालीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो । त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो। जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जीत दर्ता गर्दैै उक्त किर्तिमान भंग गरेको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा इटालीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन्। ब्राजिल ९० को दशकमा तथा स्पेन २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए।