काठमाडौँ। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ।
आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो। आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ। उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन्।
विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो।