काठमाडौं। युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।
यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो। सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो। यस संस्करणमा इटली र स्पेन अपराजित छन्। अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ।
समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले हराएको इटलीले वेल्सलाई १-० ले पराजित गरेको थियो। अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराएको इटलीले क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई २-१ ले नै पराजित गरेको थियो।
उता स्पेनले राम्रो सुरुआत गर्न नसके पनि पछिल्ला खेलहरुमा गोलको वर्षा गर्दै आएको छ। समूहको पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछि पोल्याण्डसँग १-१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गरेको स्पेनले अन्तिम १६ को ८ गोल थ्रिलर खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको थियो।
क्वाटरफाइनलमा सपेनले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। यस पटक इटलीले गज्जबको प्रदर्शन गरिरहेको छ। इटली अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३२ खेलमा अपराजत छ। यस्तै पछिल्लो १३ खेलमा इटलीमा अपराजित छ। अष्ट्रिलया र बेल्जियमविरुद्ध गोल बेहोरेको इटलीले त्यसअघि लगातार ११ खेलमा गोल खाएको थिएन।
इटलीका डिफेण्डर स्पिनाजोला बेल्जियमविरुद्ध घाइते भएकाले उनले सेमिफाइनल खेल गुमाउनेछन्। उनको स्थानमा एमरसनले खेल्ने सम्भावना छ। यस्तै स्पेनका पाब्लो साराबिया पनि इटलीविरुद्ध खेल्नमा शंका छ। स्विट्जरल्याण्डविरुद्धको खेलमा मसलमा समस्या भएपछि उनलाई डानी ओल्मोले प्रतिस्थापन गरेका थिए।
जर्मनीसँगै सर्वाधिक ३ पटक युरोकप जितेको स्पेनले यसपटक उपाधि जित्दै सबैभन्दा सफल टिम बन्न चाहन्छ। इटलीले भने सन् १९६८ मा एक पटक मात्र उपाधि जितेको छ।
पछिल्लो पटक सन् २०१२ मा फाइनल खेलेको इटली स्पेनसँग नै पराजित भएको थियो। स्पेनले २००८ र २०१२ मा लगातार उपाधि जितेको थियो। त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक उपाधि जितेको थियो।
अहिलेसम्म चार पटक सेमिफाइनल पुग्दा स्पेनले चारै पटक जित हात पारेको छ। जसमा तीन पटक उपाधि नै जित्दा सन् १९८४ मा भने उपविजेता बनेको थियो। उता इटली पनि अहिलेसम्म चार पटक सेमिफाइनल खेल्दा ३ पटक विजयी भएको थियो भने एक पटक पराजित भएको थियो।
सन् २०१६ मा फ्रान्समा भएको युरोमा इटलीले स्पेनलाई क्वाटरफाइनलमा पराजित गरेको थियो। स्पेन त्यसको बदला लिने लक्ष्यमा पनि हुनेछ। पहिलो पटक युरोपको ११ देशमा आयोजना भएको युरोकपको अब बाँकी तीन खेल वेम्वली मैदानमा हुनेछ। जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ।
तर इटली र स्पेनका समर्थकको लागि भने धेरै टिकट दिइएको छैन। इटालियन फुटबल संघका अध्यक्ष गाब्रिएल ग्राभिनाले ६० हजारमध्ये १२५ टिकट मात्र दिएको बताए।
इटलीका प्रशिक्षक रोबर्टो मान्सिनीले इटली र स्पेनका समर्थक त्यहाँ नहुनु राम्रो नभएको बताए । तर उनले थोरै मानिसको अगाडि खेल्नुभन्दा धेरैको अगाडि खेल्नु राम्रो हुने बताए।
स्पेनका प्रशिक्षक लुइस एनरिकेले यो असामन्य अवस्था भएको भन्दै त्यहाँ इंग्लिसभन्दा स्पानिस र इटालियन समर्थक धेरै होस् भन्ने अपेक्षा राखेका छन्।
इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो। यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११-११ खेल जितेका छन् । १५ खेल बराबरीमा सकिएको थियो।