प्रतिनिधिसभा पुन:स्थापना हुनेमा प्रचण्ड विश्वस्त



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनः स्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

यसअघि पनि प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गराएको स्मरण गर्दै उनले भने, ‘पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो, यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ।’

सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने समेत प्रचण्डले विश्वास व्यक्त गरे। प्रचण्डले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताए।