मप विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त



काठमाडौँ। विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको छ।

विश्वविद्यालयको इञ्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले जानकारी दिए।

यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो। विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सिंहले बताए।

यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ। उजुरी परेपछि छानविन समिति बनाइएको थियो। सो छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा।डा सिंहलाई केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो।