प्रतिनिधिसभा विघटन सम्बन्धि बहस सकियो



काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहस सकिएको छ।

सोमबार रिट निवेदक १४६ सांसद, विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सकिएको छ। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए।

अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ। सोमबार दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु हुनेछ। प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन्। एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ।

रिट निवेदक पक्ष र विपक्षले प्रतिनिधिसभा विघटन मुद्दामा १५÷१५ घण्टा बहस गरेका छन्। यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ।