सेनाद्वारा प्रहरीलाई अत्याधुनिक हतियार प्रदान



काठमाडौँ। नेपाल सरकारले नेपाल प्रहरीलाई नेपाली सेनाको अत्याधुनिक हतियार उपलब्ध गराएको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारको निर्देशनमा नेपाली सेनाले प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको हो।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले कुनै पनि मूल्य नलिइ विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ। उपलव्ध गराइएका हतियारको मर्मत तथा सञ्चालन तालिम समेत सेनाले नेपाल प्रहरीलाई प्रदान गर्ने जनाइएको छ।

यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ। सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षामा उपयोगी हुने सेनाले जनाएको छ।

सरकारले किन र कुन प्रयोजनका लागि उक्त हतियार उपलब्ध गराएको भनेर जानकारी गराइएको छैन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले दोश्रो पटक संसद विघटन गरेपछि सरकारलाई अदालतले धक्का दिइरहेको छ। प्रतिनिधिसभा विघटन बारेको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ।

अदालतलाई धम्की दिनका लागि प्रहरीलाई हतियार दिएको यस क्षेत्रका जानकारहरुको भनाई छ। सर्वोच्च अदालतले पुनः संसद विघटन बदर गरेको खण्डमा देशमा संकटकाल लगाउने तयारी स्वरुप हतियार हस्तान्तरण गरिएका जानकारहरु बताउँछन्। नेपाली सेना फिल्डमा नआएको खण्डमा प्रहरीबाटै आन्दोलन दवाउन सकिने सरकार पक्षको बुझाइ छ।