निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो। सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गर्न लागेको हो।

आयोग उच्च स्रोतका अनुसार अहिले केहीबेरमा विज्ञप्तिमार्फत कार्यतालिका सार्वजनिक गरिँदैछ। ‘केहीबेरमा ६७ बुँदाको कार्यतालिका सार्वजनिक हुँदैछ’ स्रोतको भनाइ छ।

आयोग स्रोतका अनुसार पहिलो चरणको निर्वाचनका लागि आयोगले तयार गरेको कार्यतालिकामा असोज २० उमेदवारी मनोनयन तथा उजुरीका लागि असोज २२ र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनेको छ।

त्यस्तै, दोस्रो चरण मंसिर ३ मा हुने निर्वाचनका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेगरी कार्यतालिका बनेको छ।