रिपब्लिक र डेनमार्क, युक्रेन र इंगल्याण्डबीच भिडन्त



काठमाडौं। युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ। चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ।

यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ। शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन्। चेक रिपव्लिकले अन्तिम १६ मा नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने डेनर्माकले वेल्सलाई ४-० ले पराजित गरेको थियो।

चेक र डेनमार्क दुवै युरोकपको पूर्वविजेता टोली हुन्। दुवैलाई यस पटक अन्डर डगको रुपमा हेरिएको छ। यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासंग खेल्नेछ। चेकोस्लोभाकियासँग अलग नहुँनै चेकले १९७६ मा युरोकप उपाधि जितेको थियो। त्यसपछि चेक रिपब्लिकको नामबाट युरोप कप खेल्न थालेकामा १९९६ मा उपविजेता बनेको थियो भने २००४ मा सेमिफाइनल पुगेको थियो।

डेनमार्कले भने १९९२ मा उपाधि जितेको थियो। त्यसयता २००४ मा क्वार्टरफाइनल खेलेको डेनमार्क १७ वर्षपछि पहिलो पटक क्वार्टरफाइनल खेल्दैछ। संयोगवश २००४ को क्वार्टरफाइनल डेनमार्क चेकसंग पराजित भएको थियो। यस पटक डेनमार्कलाई त्यस हारको बदला लिने अवसरसमेत छ। यी दुई टोलीबीचको इतिहास हेर्ने भने चेकको पक्षमा छ। अहिलेसम्म २६ खेल हुँदा चेक रिपव्लिकले १३ खेल जितेको छ। डेनमार्कले २ खेल मात्र जित्दा ११ खेल बराबरीमा सकिएको थियो।

यस्तै अर्को खेलमा अर्को अन्डर डग टोली युक्रेनले इंग्ल्याण्डसंग खेल्नेछ। इंग्ल्याण्डले अन्तिम १६ मा ३ पटकको विजेता जर्मनीलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। युक्रेनले स्वीडेनलाई २-१ ले हराएको थियो। चालु युरोकपमा इंग्ल्याण्डले अहिलेसम्मको चार खेल घरेलु मैदान वेम्बलीमा खेलेको छ। क्वार्टरफाइनलको यो खेलमा इंग्ल्याण्ड पहिलो पटक घर बाहिर अर्थात रोममा खेल्दैछ। यस खेल जितेमा इंग्ल्याण्डले बाँकी खेल वेम्बलीमै खेल्नेछ।

पूर्व खेलाडी आन्द्रे सेभचेन्कोको प्रशिक्षणमा गज्जबको प्रदर्शन गरिरहेको युक्रेन पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। इंग्ल्याण्ड २०१२ यता पहिलो पटक क्वार्टरफाइनल खेल्दैछ र २५ वर्षपछि सेमिफाइनल पुग्ने लक्ष्यमा छ। सन् १९९६ मा जर्मनीसंग सेमिफाइनलमा पराजित हुँदा पेनाल्टी गुमाएका गारेथ साउथगेट अहिले इंग्लिस टोलीको प्रशिक्षक छन्।

इंग्ल्याण्डको लागि यो पटक फाइनल पुग्ने राम्रो अवसर रहेको फुटबल पण्डितहरुले बताएका छन्। इंग्ल्याण्डले जर्मनीलाई पराजित गरेपछि सहजै फाइनल पुग्ने धेरैको अपेक्षा छ। तर, युक्रेन पनि अप्रत्यासित नतिजा निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ। इतिहास हेर्ने हो भने इंग्ल्याण्ड हावी छ। अहिलेसम्म ७ खेल हुँदा इंग्ल्याण्डले ४ खेल जितेको छ भने युक्रेनले १ खेल मात्र जितेको छ। २ खेल बराबरीमा सकिएको थियो। यसअघि सन् २०१२ को युरोकपमा यी दुई टोली भिड्दा इंग्ल्याण्ड १-० ले विजयी भएको थियो।