बाध्यात्मक परिस्थितिमा मात्रै नयाँ पार्टी: माधव नेपाल



काठमाडौँ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सकेसम्म सहमतिमै पार्टी एकता जोगाउने र बाध्यात्मक अवस्थामा मात्र नयाँ पार्टीको विकल्प सोच्नुपर्ने बताएका छन्।

आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालले जहिले पनि आफ्नो प्राथामिकता पार्टी एकता नै रहेको बताए। बुधबार बसेको एमाले संस्थापनपक्षको स्थायी कमिटी बैठकले फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गर्दै उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो। निर्णयले पार्टीभित्रका असन्तुष्ट पक्षको माग सम्बोधन भएको र एकताको आधार बनेको संस्थापन पक्षको दाबी थियो।

महाधिवेशन आयोजक कमिटी भंग गर्ने संस्थापन पक्षको निर्णयपछि लिनुपर्ने रणनीतिमाथि छलफल गर्न नेपालले बिहीबार आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका थिए। सोही बैठकमा नेता नेपालले अन्तिमसम्म एकताको प्रयास गर्ने र अन्तिम विकल्पमा मात्रै नयाँ पार्टीबारे सोच्ने धारणा राखेको एक सदस्यले बताए।

उनका अनुसार नेपालको भनाइ थियो, ‘हाम्रो प्रयास जहिले पनि एकताका लागि हुनुपर्छ। तर, एकता यत्तिकै हुने पनि होइन। एकताका लागि अर्को पक्ष तयारै भएन भने मात्रै हामीले मात्रै भनेर त हुँदैन। त्यसपछि अरु विकल्प सोच्नुपर्छ। तर, अन्तिमसम्म हामी एकतामै लाग्छौं।’

एकताका लागि प्रयास गरेको तर पार्टी विधान अनुसार अध्यक्ष नचलेको आरोप नेपालको छ। ‘अध्यक्ष ओलीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी एवम् जनसंगठनलाई २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी विधान अनुरुप सक्रिय तुल्याउन ६ बुँदे लिखित प्रस्तावसहित आग्रह गरेका थियौं’, बैठकपछि सञ्चारकर्मीसँग भीम रावलले भनेका थिए, ‘तर, पार्टी विधान विपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकतामा अवरोध पुर्‍याउने भएकाले १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन। वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ।’

केन्द्रीय कमिटी बैठक बोलाउनु अगाडि स्थायी कमिटी बैठक बस्नुपर्ने बैठकको निर्णय छ। ‘केन्द्रीय कमिटीको बैठक स्थायी कमिटीको बैठकको प्रस्ताव वा निर्णयको आधारमा मात्र बोलाइनुपर्छ’, रावलले भने।

बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र राष्ट्रियताका लागि अहिले विपक्षी गठबन्धनमा सहभागी भएकोसमेत दाबी गरेका थिए। बैठकले संस्थापन पक्षले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय लिएको छ। ‘हिजो केपी ओली पक्षले गरेका निर्णय अस्वीकार गरेका छौं। ती निर्णय एकताका पक्षमा छैनन्। दोस्रो, भोलि बस्ने भनिएको बैठक अवैधानिक छ। त्यसकारण हामी सहभागी हुँदैनौं। तेस्रो, एकता गर्ने हो भने सम्पूर्ण रुपमा जेठ २ मा फर्किनु पर्छ। चौथो, सबै कुराहरु सहमतिबाट गर्नुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने।

संस्थापन पक्षसँग अनौपचारिक वार्तामा बसेका खनाल–नेपाल समूहका नेताहरुले शुक्रबारको बैठक स्थगित गरेर एकताका लागि सहमति खोज्ने प्रस्ताव गरेका छन्। तर, संस्थापन पक्षले यसबारे केही बताएको छैन।

एमालेको संस्थापन पक्षले बुधबार दसौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । खनाल–नेपाल पक्ष भने जेठ २ मा कायम कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ।