चीनले कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै



काठमाडौँ चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ।

अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने ठानिएको छ। चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।

हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ।

चीनले वर्षगाँठको तयारी कसरी गरेको छ?

सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो। त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ। सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो।

उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो। तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ।