चिनियाँ राष्ट्रपति सीको चेतावनी: चीन दबिने छैन



काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन्। सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन्। त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए।

उनले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी समेत दिए। बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगाँठ मनाउनका लागि भेला भएका छन्, उनीहरुमध्ये धेरैजनाले मास्क लगाएका छैनन्। चीनमा कोरोना भाइरसको प्रभाव खासै नरहेकाले उनीहरु स्वतन्त्र हिडिंरहेका छन्।

सीले झन्डै एक घण्टासम्म सम्बोधन गरेका थिए। उनले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए। उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए।

अमेरिकाले आफ्नो विकास रोक्ने प्रयोग गरिरहेको आरोप चीनले बारम्बार लगाउने गरेको छ। त्यहीकारण यो भनाईलाई पनि वासिङटनसँग जोडिएको हेरिएको छ। बिहीबार बिहानको समारोहमा सैनिक जेट उडाइएको, तोप पड्काइएको र राष्ट्रवादी गीतहरु बजाइएको थियो।

१९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी सिसिपी गठन भएको थियो। लामो गृहयुद्धपछि १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो। त्यसयता देशमा ठूलो परिवर्तन भइसकेको छ। सोमबार बेइजिङस्थित बर्ड नेस्ट रंगशालामा ‘ग्रेट जर्नी’ नामक नृत्य प्रस्तुती पेश गरिएको थियो, यस प्रस्तुतीले चिनियाँ इतिहास झल्काउथ्यों।