त्रिविलाई विद्यार्थी संगठनको १० दिने अल्टिमेटम



काठमाडौं। विभिन्न पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्।

मंगलवार विद्यार्थी संगठनहरुले १० दिने अल्टिमेटम सहित पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा ज्ञापनपत्रमा बुझाएका हुन्।

विद्यार्थी संगठनहरुले लामो समयसम्म शैक्षिक गतिविधि लथालिङ्ग हुँदा समेत त्रिवि प्रशासन निदाएर बसेको भन्दै विश्वविद्यालयका उपकुलपति समक्ष ज्ञापनपत्र बुझाएका छन्। पाँच बुँदे संयुक्त ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक सत्रको समयअवधि परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त विधि र समयावधि तोकेर परीक्षा सञ्चालन गर्न तथा शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागू गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा एम फिल र पीएचडी भर्ना शुल्क बारेको समस्या तत्काल विद्यार्थीहरूसँग संवाद गरि समाधान गर्न पनि माग गरिएको छ। त्यस्तै टियु अन्तर्गतका आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरुलाई नीजि क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्नुपर्ने भन्दै आंगिक क्याम्पसहरुमा कानुन विषयको अध्ययन अध्यापनको व्यवस्था मिलाउन पनि माग गरिएको छ।