काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन्।
सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए।
‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए। संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो। उनले संविधानतःआफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने बताए।
यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए। ‘सर्वदलीय बैठक गरौं भनेको थिएँ,’ उनले भने, ‘उहाँले केही समयपछि गरौं भन्नुभयो।’
आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । उनले भने, ‘राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ, छलफल र बहस गर्नुपर्छ।’
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो। उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए।