युरोकप: फ्रान्स बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा



काठमाठौं। विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५(४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो ।

केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो।

रोमानियामा सोमबार राति भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३(३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ स्वीट्जरल्यान्डले बाजी मार्‍यो ।

पेनाल्टीमा स्विट्जरल्याण्डा गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पो प्रहार रोक्दै जित दिलाए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । उता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

त्यसअघि निर्धारित समयमा पनि स्वीस टोलीले नै पहिलो अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा पाएको थियो तर रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न नसक्दा स्विट्जरलयाण्डले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । उनको पेनाल्टी प्रहार फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिसले बचाए ।

करिमब बेन्जामा दुई मिनेट अन्तरमा दुई गोल गरेपछि फ्रान्सले अग्रता लियो । बेन्जामाले ५७औं मिनेटमा बराबरी गोल गरे भने ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यस युरोमा बेन्जामाले व्यक्तिगत चार गोल गरे ।

त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३(१ गोलको अग्रता दिलाए । दुई गोलको अग्रतापछि फ्रान्स जितनजिक थियो । तर ८१औं मिनेटमा सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३(२ को स्थितिमा ल्याए ।

९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि निर्धारित समयको खेल ३(३ गोलको बराबरीमा सकियो । थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि यस संस्करणमा पहिलो पटक खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

जहाँ स्वीस गोलकिपर यान सोमेर नायक बने । एमबाप्पेको पेनाल्टी प्रहार रोक्दै उनले स्विट्जरल्याण्डलाई ऐतिहासिक जित दिलाउन मद्दत गरे । सन् १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियालाई अतिरिक्त समयमा ५(३ ले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ। साविक विजेता पोर्चुगल पछि साविक उपविजेता तथा उपाधि दाबेदार फ्रान्स पनि अन्तिम १६ बाटै आउट भएपछि युरोकप रोमाञ्चक बनेको छ ।

२०१६ मा फ्रान्समा भएको युरोमा सेमिफाइनल खेलेका चारमध्ये तीन टिम पोर्चुगल फ्रान्स र वेल्स बाहिरिसकेका छन् । त्यो बेला सेमिफाइनल खेल्ने बेल्जियम यस पटक क्वाटरफाइनल पुगिसकेको छ।