काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन्। प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन्।
७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो। मलाई बहुला कुकुरले टोकेको छ र?
उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको भन्दै एमाले अध्यक्ष ओली भने, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर सँगै हुन्छ ।’ प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको उनको टिप्पणी थियो ।
एमालेको वरिष्ठ नेता भन्ने, तर एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको उनले बताए । राजनीतिका नाममा यस्तो अराजकता दुनियाँको कहीं नहुने भन्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल जत्तिको अराजक, अनुशासनहीन र इमान नभएको मान्छे अर्को नभएको टिप्पणी गरे ।
मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप
प्रधानमन्त्री ओलीले नेता नेपालमाथि मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप लगाएका छन् । जिन्दगीभर मदन भण्डारीको विरोध गरेका उनले सोमबार जन्मजयन्तीको सन्दर्भमा वक्तव्य दिएको भन्दै ओलीले भने, वेसरमको पनि हद हुन्छ नि ।’
२०६३ जेठ १ गते छलफल पत्रिकामा मदन भण्डारीबारे प्रकाशित माधव नेपालको लेखमा ‘हिमाल टाढाबाट हेर्दा राम्रो हुन्छ, कस्तो छ भन्ने नजिकै बस्नेलाई थाहा हुन्छ,’ ‘मदनका राम्रा–राम्रा कुरा मात्र गर्ने, कमीकमजोरीको चर्चा खोइ ?’ भनेको पढेपछि आफूले दृष्टिमा खण्डन छपाएको उनले स्मरण गरे।
मदन भण्डारीका लेख प्रकाशित गरेकै कारण मदन–आश्रित फाउण्डसेनका अध्यक्ष बाचश्पति देवकोटालाई हटाएको, दासढुंगा दुर्घटनामा प्रयोग भएको गाडी संरक्षण गरौं भन्दा हतारहतार बनाएर प्रयोगमा ल्याउन खोजेको समेत उनको आरोप छ।