नेपाल समूहमै तीन लाइन



काठमाडौँ। नेकपा एमालेभित्रको विवादलाई कसरी निरुपण गर्ने भन्नेबारे झलनाथ खनाल र माधव नेपाल समूहमा विचारको हिसावले तीनवटा धार देखिएका छन्।

अध्यक्ष केपी ओलीसँग विनाशर्त मिल्नुपर्छ भन्ने एउटा धार छ भने अर्को रेडिकल धार छ, जसले तत्कालै विद्रोह गरेर नयाँ पार्टी बनाउनुपर्छ भन्दै आएको छ । तेस्रो धार चाहिँ भने पार्टीलाई अक्षुण राख्दै ओलीसँग अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छ।

बाहिर चर्चामा आएअनुसार माधवकुमार नेपाल, जगन्नाथ खतिवडा, राजेन्द्र राई लगायतका नेताहरु तत्कालै नयाँ पार्टी बनाएर अगाडि बढ्न आँट गर्नुपर्ने पक्षमा छन्। यद्यपि उनीहरुले नयाँ पार्टी गठन गर्ने कदम चालिहालेका छैनन्।

योगेश भट्टराई र गोकर्ण विष्टहरु बेग्लै पार्टी बनाएर जान सकिँदैन भन्दै ओलीसँगै मिलेर अगाडि जानुपर्ने पक्षमा छन्। यही टिमका गणेश पहाडी ओली सरकारमा मन्त्री खान गइसकेका छन्। तर, उनले १२ दिनमै मन्त्री पदबाट बाहिरिनु परेको छ।

र, एमालेभित्र मध्यमार्गी धारको नेतृत्व घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लगायतले गरिरहेका छन्। आफूहरुले जीवनभर लागि परेर बनाएको एमाले पार्टी महेश बस्नेतहरुलाई जिम्मा लगाएर हिँड्न नहुने र एमाले नै रहेर ओलीसँग लड्नुपर्ने भुसाल र पाण्डेले आफू निकटस्थहरुलाई बताउने गरेका छन्।

एमाले छाडेर नयाँ पार्टी बनाउन कठिन हुनेमा घनश्याम भुसाल र योगेश भट्टराईहरुको मत मिलेको छ। तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा भने भुसाल र भट्टराईको मत बाझिएको छ। योगेश भट्टराईले हस्ताक्षरप्रति असहमति जनाएका छन् भने घनश्याम भुसालले चाहिँ लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नु अहिलेको आवश्यकता भएकाले सर्वोच्च अदालतको निर्णयअघि हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन्।

रातोपाटीका अनुसार हस्ताक्षर फिर्ता लिनुहुँदैन भन्नेमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच एकमत देखिएको छ। उनीहरुको अडान छ, ‘पहिले जेठ २ को बैठक बसौं, हस्ताक्षरबारे अब अदालतले नै जे गर्नुपर्ने हो गर्छ। केपी ओलीले संसद विघटन गरेर संविधान मिचेका कारण यो विषय अदालतमा गएको हुनाले यो नसच्चिएसम्म हस्ताक्षर फिर्ता लिने कुरै हुँदैन।’

तर,ओली निकटका नेताहरुको शर्त छ, केपी ओली जेठ २ मा फर्कन तयार भएपछि खनाल–नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनैपर्छ।