काठमाडौँ। अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरुद्धको अपराध गरेको बताएका छन्।
सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट आइतबार बहस नोट प्रस्तुत गर्दै अर्यालले राष्ट्रपतिबाट एक प्रकारको ‘कू’ भएको बताए। ‘प्रधानमन्त्री ओलीलाई अवैधानिक रुपमा सत्तामा टिकाउने योजना, एक प्रकारको कू मुताविक राष्ट्रपतिबाट पटक–पटक प्रतिनिधिसभाको विघटन गरिएको कार्य असंवैधानिक मात्र नभै कसुरजन्य पनि हो’ अर्यालको बहस नोटमा भनिएको छ, ‘दुराशययुक्त विघटनलाई संविधानविरुद्धको अपराधको रुपमा स्मरण गराइनुपर्दछ।’
संवैधानिक प्रणालीको सुरक्षाका लागि संविधान उल्लंघनकर्तालाई व्यक्तिगत हैसियतमा समेत जवाफदेही बनाउनका लागि अदालतले संसद समेतको ध्यानाकर्षण गराउनु उचित हुने अर्यालले बताएका छन्।