काठमाडौँ। फुटबलमा प्रतिद्वन्द्वीको चर्चा हुँदा इङ्ल्याण्ड र जर्मनीको नाम पनि आउने गर्दछ।
दुई टोलीबीचको खेलले धेरै सम्झनलायक पलहरु दिएका छन्। यूरो २०२० को क्वार्टरफाइनलमा स्थान बनाउनका लागि मङ्गलबार दुई टोलीले यस प्रतिद्वन्द्वीतामा नयाँ अध्याय थप्ने छन्।
सन् २०१४ को विश्व विजेता जर्मनी पछिल्ला वर्षहरुमा इङ्ग्ल्याण्डमाथि हाबी हुँदै आएको छ। तैपनि फुटबल फ्यानहरुले यो खेललाई निकै रुचीका साथ पर्खिरहेका छन्।
इङ्ग्ल्याण्डका फ्यानहरुले पक्कै पनि सन् २०१० को विश्वकपमा दुई टोलीबीच भएको खेल सम्झन चाहनन्। दक्षिण अफ्रिकाको ब्लोएमफोन्टिएनमा भएको खेलमा जर्मनी ४–१ ले विजयी भएको थियो। जे नतिजा आए पनि उक्त खेलले सदाका लागि फुटबलको भविष्य बदलेको थियो।
उक्त खेललाई फ्रांक लाम्पार्डको ‘घोष्ट गोल’ का लागि सम्झिने गरिन्छ । त्यही गोलका कारण आधुनिक फुटबलमा गोल लाइन प्रविधिको सुरुवात भएको थियो।
खेलमा जर्मनीले २–१ को अग्रता लिइरहेको अवस्थामा इङ्ग्लिस मिडफिल्डरले गोलकिपर म्यानुअल नुयरलाई चिप गर्दै टोलीका लागि बराबरी गोल गरेको सोचेका थिए। क्रसबारमा लाग्दै बलले गोल लाइन पार पनि गर्यो। तर खेल अफिसियलले त्यसलाई देखेनन् र गोल दिएनन्। अन्ततः खेल इङ्ग्ल्याण्डले गुमायो।
उक्त गल्तीका कारण इङ्ग्ल्याण्डमा फिफाको निकै आलोचना भयो। फुटबलको नियामक निकाय माफी माग्न बाध्य भयो भने खेलमा गोल लाइन प्रविधिका लागि ढोका खुल्यो।
सन् २०१४ को विश्वकपमा फिफाले गोललाइन प्रविधि लागू गरिसकेको थियो भने सन् २०१८ को संस्करणमा आइपुग्दा अझ उन्नत भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गरिएको थियो। यसले खेलमा सकारात्मक परिवर्तन गर्यो,’ लाम्पार्डले भनेका थिए, ‘गोल लाइन प्रविधि खेलका लागि सकारात्मक कदम हो।’
स्रोतः सिएनएन