२०७४ सालको आम निर्वाचनपछि देशले नयाँ क्षितिज खोल्ने आशा बोकेका जनताहरु अहिले निराशाको घुम्टो ओड्न बाध्य छन्। तत्कालिन नेकपा (नेकपा) को चुनावी घोषणा पत्रले देशलाई पाँच वर्षका लागि स्थिर सरकार र समृद्धिको अभियानको सुरुवात गर्ने भनेको थियो। त्यहि नारालाई अनुमोदन गर्न जनताले नेकपालाई करिब दुई तिहाई मत दिए।
तर, जनताको मतमाथि (नेकपा) ले धोका दियो। अर्थात, केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले पारदर्शीता, जिम्मेवारीता, जवाफदेहीता निभाउन सकेनन्। यसअवधिमा एमाले र माओवादी मिलेर बनेको नेकपालाई एक राख्न, सरकारलाई जनप्रिय बनाउनमा ओली सरकार नमजाले चुक्यो।
त्यसकै परिणामस्वरुप आज देशमा राजनीतिक, संवैधानिक, आर्थिक, सामाजिकसँगै स्वास्थ्य संटक आइलागेको हो भन्ने कुरामा धेरैको विमति नहोला। तर, यत्तिकैमा विषय सकिँदैन, देशलाई आजको अवस्थामा ल्याइपुर्याउन केवल ओली नेतृत्वको पार्टी (एमाले) र उनी नेतृत्वको सरकार मात्रै जिम्मेवार छैन। मुख्य राजनीतिक दलका नेताहरुको पनि उत्तिकै भूमिका रहेको छ। केही घटनाक्रमहरु याद गरौंः
राष्ट्रपतिमाथि शंका
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल नै त्यति निष्पक्ष र प्रभावकारी नरहेको सत्यका बीच उनलाई दोस्रो पटक राष्ट्रको अभिभावकीय जिम्मेजारी दिनु नै गल्ति थियो। तत्कालिन नेकपाले ओली समूहकी नेतासमेत रहेकी भण्डारीको उदय उनको आफ्नै योगदानभन्दा स्व.मदन भण्डारीको विरासतमा उभिएको हो भन्नेहरु तमाम छन्। खैर, उनलाई राष्ट्रपति बनाउनुमा कुनै विमती होइन। विमती आजको अवस्थामा आउनु र ल्याउनुमा उनले खेलेको भूमिकामाथि हो।
प्रचण्ड र माधव नेपालहरुले एउटै गुटका व्यक्तिहरुलाई पार्टी र सरकारको नेतृत्व सुम्पिनु सबैभन्दा ठूलो कमजोरी भएको थियो। राष्ट्रपतिमा भण्डारी, प्रधानमन्त्री÷पार्टी अध्यक्षमा ओली र पार्टीको महासचिवमा विष्णु पौडेललाई स्वीकार गरेर प्रचण्ड-नेपालहरुले गम्भीर गल्ती गरेका हुन्। पार्टी र सरकारमा शक्ति सन्तुलन राख्न नसकेपछि उल्लेखित पात्रहरु गतिविहिन बनेको अहिले आएर पुष्टि भएको छ।
स्वेच्छाचारी रुपमा शासन र पार्टी चलाउन थालेका ओलीले २०७७ पुस ५ गते पार्टीको आन्तरिक विवादलाई लिएर संसदमाथि प्रहार गरे। फलस्वरुप अध्यादेशमार्फत देश चलाउने अभ्यासारम्भ गरे। फागुन ११ गते अदालतले ओली र भण्डारीको मिलिभगतमा गरिएको केही प्रतिगमन सच्यायो। अदालतको पूरा आदेशको अंश नआउँदै यि पात्रले जेठ ७ को मध्ये राति पुनः संसदको दोस्रो पटक विघटन गरे। मदन भण्डारीको मृत्युबारे सोधि खोजी गर्न राष्ट्रपति भण्डारीलाई कहिल्यै फुर्सद भएन। तर, ओलीका अनुचित, असंवैधानिक कदमहरुमा साथ दिनेमा उनी क्रियाशील रहिन्। समाजले देख्ने गरि विवादमा आउने काम र राजनीतिक पक्षपात गरिन्। उनीमाथि जनताले अनेकन प्रश्न गर्न थालेका छन्। बालुवाटार र शीतल निवासबीचको दुरीलाई लिएर अनेकन शंका गर्न थालिएका छन्। यि निवासहरुले उठेका शंकालाई चिर्न सक्नुपर्छ।
विधि र विधानको रटान
अर्कोतर्फ विधि र विधानको रटान भर्ने प्रचण्ड-नेपालहरुले पार्टी एकताहुँदादेखि नै कमजोरीहरुलाई सच्याउने अनेकन मौका गुमाउँदै आए। पार्टीमा हरेको बहुमतको प्रयोग गर्न सकेनन्। उनीहरुले ओलीलाई सबक सिकाउने भनिरहे। ओलीले आफ्नो गर्ने मनोमानि गरिरहे। जनताले हेरिरहे। ओली आफूमात्रै सकिएनन्, राष्ट्रपतिलाई विवादमा ताने। प्रधानमन्त्री पदको दुरुपयोग गरे। देशमा भ्रष्टाचार र स्वेच्छाचारीताको राज मौलाए। साथै राजनीतिक र संवैधानिक संटक निम्त्याए। त्यसैमा प्रतिपक्षी दल नेपाली कांग्रेसको कमजोरी भत्सर्ना गर्न लायक रह्यो।
नेपाली राजनीति अहिले अदालतको ढोकामा छ। राजनीतिक दलका नेताहरु असफल बनेपछि अहिले संवैधानिक र राजनीतिक संटक र्सिजना भएको हो। संविधान र सरकार राजनीतिक विज्ञानका मूल विषय हुन्। यिनै विषयलाई सहि रुपमा सञ्चालन गर्न नसक्दा शक्ति सन्तुलनका हिसाबले सबै प्रकारका समस्याहरु अदालतमा निर्भर हुनलाई अनौठो मान्नु परेन।
अनौठो मान्नुपर्ने कारण अरु नै छन्। लोकतन्त्रमा व्यक्ति होइन, संस्थाहरुको विकास र विश्वास गरिनुपर्छ। प्रश्न उठ्छ के नेपालमा लोकतन्त्रको अभ्यास ठिक रुपमा गरिँदैछ? छैन। नेपाली राजनीतिको पहिलो पुस्ता धोकाको रुपमा खडा भएको अवस्था छ। प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुलाई राजकीय दर्शन गर्नु दोस्रो पुस्ताको दैनिक जस्तो देखिन्छ। मुख्य नेताले जे भन्यो त्यहि गर्ने, प्रश्न नगर्ने, पूजा मात्रै गरिरहने गर्नाले उनीहरु गतिछाडा बनेको सत्यलाई नकार्न मिल्दैन। बिहान उठेदेखि राति नसुतेसम्म नेताहरुको महिमा गान गाउन, गलत कामको बचाउ गर्न र प्रतिपाद गर्नमा तेस्रो पुस्ता (साइबर स्याल) को अरिरिक्त लगानी र योगदान बुझि सक्नु छैन।
उनीहरुले लोकतन्त्रमा संस्थाहरुलाई बलियो बनाउनु पर्छ भन्नु त कहाँ हो कहाँ, भएका संस्थाहरुको जगमा सब्बल हाल्ने काम गरिरहेका छन्। विवादमा तान्ने काम गरिहेका छन्। प्रभावमा पार्ने काम गरिहरेका छन्। राष्ट्रपतिको पूजा गर्ने, प्रधानमन्त्रीको महिमा गान गाउने, पार्टी अध्यक्ष, सभापतिहरुको ढोका कुर्ने, फेरो समात्ने, गलत मनसायका काममा शक्ति प्रयोग गर्न लगाउने, ठेक्का पट्टा, दलाली र कमिशनको धन्दा चलाउने कामहरु देख्दा अनौठो मान्नुपर्छ। भविष्यका खम्बाहरु नै अराजकता, स्वेच्छाचारिता र अंहकारको साक्षि बन्नु अनौठो कुरा हो। सचेत युवाहरुको मौनता र पार्टीमा आवद्ध युवाहरुको आशक्ति पनलाई अनौठो मान्नुपर्ने हुन्छ।
ओली बिराउने, एमाले पिराउने
गत वर्षको फागुन २३ पछि देशमा एमालेको अल्पमतको सरकार छ। अदालतले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइ दिएपछि एमालेको ओली पक्ष मात्रैले सरकारको जिम्मेवारी सम्हाली रहेको छ।
एउटा अंहकारी र स्वेच्छाचारी पात्रको हातमा पार्टी र सत्ता पुग्दाखेरीको अवस्था के हुँदो रहेछ? भन्ने कुराको सायद उत्तर खोजिरहनु पर्दैन। एउटा बिराउने, शाखा पिराउने भने जस्तै एमालेमा ओली बिराउने पात्र हुन्। तर, इतिहासले नेपाल पक्षलाई पनि माफि दिने अवस्था छैन।
ओलीका असंवैधानिक कदमहरुको नेपाल पक्षले विरोध गरेपनि पार्टी एउटै भएको र एमाले हुँ भन्ने हो भने वर्तमान अवस्थाको दोषबाट मुक्त रहन मिल्दैन। त्यसैले एमालेको दुवै पक्षले गम्भीर भएर पार्टी र सरकारका बारेमा सोच्नुपर्ने हुन्छ। जति दुरी बढायो त्यति नै सत्यनास हुने कुराको हेक्का राख्न जरुरी छ।