काठमाडौँ। वेल्सलाई पराजित गर्दै डेनमार्क यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको अन्तिम १६ को पहिलो खेलमा डेनमार्क ४-० को विशाल अन्तरले विजयी भएको हो।
डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे। त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक(एक गोल गरे। निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए। ८८औँ मिनेटमा माहालेले अर्को गोल थपे। खेलको अन्त्यमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित बन्यो। यसको फाइदा उठाउँदै ब्राथवेटले इन्जुरी समयमा अर्को गोल थपे। अब अर्को शनिबार बाकुमा हुने क्वार्टरफाइनल खेलमा डेनमार्कले नेदरल्याण्ड र चेक रिपब्लिकबीचको विजेतासँग भिड्नेछ।