काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने भन्दै सार्वजनिक रुपमा वाचा प्रकट गरेका छन्।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिए।
तर, अहिले एमालेमा एकताको प्रयास भइरहेको छ र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको रिटमा भएको हस्ताक्षर फिर्ता लिनुपर्नेमा जोड दिएका छन्। माधव समूहका नेताहरुले भने हस्ताक्षर फिर्ता नलिने, तर अदालतको फैसला आउँदा एमाले एकठाउँमा उभिनुपर्ने बताएको छ।
विपक्षी गठबन्धनले शनिबार गरेको कार्यक्रममा एमाले नेता नेपालले देउवालाई धोका नदिने बताए। ‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव आफूलाई आउन थालेको भन्दै उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन प्रक्रिया अगाडि बढेको छ, त्यहा“ धोका दिने पक्षमा छैन। हस्ताक्षर फिर्ता लिने पक्षमा छैन।’
प्रतिउत्तरमा कांग्रेस सभापति देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने बचन दिएका छन्। उनले भने, ‘माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैन।’