सभापतिका आकांक्षीहरु छलफलमा व्यस्त



काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाएका छन्।

सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ।

सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन्। तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको स्रोतले बताएको छ।

‘महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्नेबारे कुराकानी भयो,’ निधिनिकट स्रोतले भन्यो, ‘अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ।’

निधि निकट स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो। तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ।